रास्वपा बागमती प्रदेश सभापतिमा डा. अच्युत्तम लामिछाने
हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश समिति सभापतिमा डा. अच्युत्तम लामिछाने निर्वाचित हुनुभएको छ । आइतबार राती सम्पन्न निर्वाचनबाट काठमाडौंका डा। लामिछाने प्रदेश सभापति निर्वाचित हुनुभएको हो ।
सभापतिका आकांक्षी ४ जनाबीच पहिलो चरणको निर्वाचनमा कुनैपनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि दोस्रो चरणको निर्वाचन भएको थियो । पहिलो चरणमा डा। लामिछानेसहित चितवनकी जिता बराल, काभ्रेका दीपक बिक र दिनेश हुमागाई उम्मेदवार हुनुहुन्थ्यो । दोस्रो चरणमा डा. लामिछाने र दीपक बिक उम्मेदवार रहनुभएको थियो ।
यसअघि आइतबार साँझ प्रदेश समितिमा ८ जना महिलासहित ११ जना प्रत्यक्षतर्फबाट निर्वाचित भएपछि प्रदेश समितिले पूर्णता पाएको थियो । बागमती प्रदेशका ६६ वटा प्रदेश सभा सदस्य निर्वाचन क्षेत्रबाट एक एकजनाका दरले जिल्ला समितिले सिफारिस गरेका ६६ जना प्रदेश समितिमा सदस्य चयन भएका थिए ।