नेपालको कीर्तिमानी स्कोर, ओमानलाई दियो ३११ रनको लक्ष्य

काठमाडौं । युवा अलराउण्ड कुशल मल्लले ओडीआई करियरको पहिलो शतक र सोमपाल कामीको अर्धशतक को मदतमा नेपालले एसीसी प्रिमियर कपमा ओमानलाई ३११ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१० रन बनायो । यो नेपालले ओडीआई (एकदिवसीय अन्तराष्ट्रिय) मा बनाएको सबभन्दा ठूलो स्कोर हो । यसअघि गत मार्चमा लिग टूमा पपुवा न्युगिनीविरुद्ध २९७ रन बनाएको थियो ।  नेपालका लागि कुशलले १०८ रन बनाए ।

नेपालले ब्याटिङमा खराब सुरुवात गरेको थियो । ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेल शुन्यमा आउट हुँदा नेपालले रन जोडेकै थिएन । कुशल भुर्तेल तेस्रो ओभरमा बिलाल खानले एलबीडब्लु धरापमा परे । आसिफलाई कलिमुल्लाहको चौथो ओभरमा बोल्ड गरे । पहिलो चार ओभरमा कुनै रन जोड्न नसकेको नेपालले २८औं बलमा रनको खाता खोलेको थियो ।

त्यसपछि भीम शार्की र कप्तान रोहित पौडेलले अर्धशतकीय ९५४० साझेदारी गर्दै नेपालको इनिङ्स सम्हाले प्रयास गरे । १८औं ओभरमा रोहित ३४ बलमा २३ रन बनाएर आउट भए । भीम पनि २०औं ओभरमा आउट भए । ५६ बलको सामना गरेका उनले व्यक्तिगत ३३ रन जोडेका थिए ।

त्यसपछि आरिफ शेख र कुशल मल्लले इनिङ्स सम्हाले । दुबैले पाँचौ विकेटका लागि ७५ रनको साझेदारी गरे । आरिफ ४३ बलमा २९ रन बनाएर आउट भए ।

कुशल भने क्रिजमा जमिरहे । १९ वर्षीय कुशलले ३९औं ओभरको पाँचौं बलमा छक्का प्रहार गर्दै शतक पुरा गरे । ५९ बलमा ९ चौका र ९ छक्काको बलमा १०० रन पुरा गरेका उनी नेपालका लागि सबभन्दा छिटो ओडीआई शतक प्रहार गर्ने क्रिकेटर बने । ओडीआईमा नेपालका लागि शतक प्रहार गर्ने छैटौं खेलाडी बने । पूर्वकप्तान पारस खड्का, दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल, कुशल भुर्तेल र आसिफ शेखले शतक बनाएका थिए ।

२०२० मा लिग टु अन्तर्गत कीर्तिपुरमै अमेरिकाविरुद्ध डेब्यु गरेका कुशल मल्ल ओडीआईमा सर्वाधिक रन बनाउने सातौं नेपाली क्रिकेटर पनि हुन् । थप ८ रन जोडेर उनी आउट भए, जतिबेला नेपालको स्कोर २२१ रन थियो ।

क्रिजमा रहेका सोमपालले आक्रामक पारी खेले । सोमपाल र करण केसीले नवौं विकेटका लागि अविजित ६१ रनको साझेदारी गरेपछि नेपालले कीर्तिमान स्कोर बनायो । सोमपालले ६३ र करण २९ रन अविजित रहे ।

ओमानका लागि आएन खानले २ तथा बिलाल खान, कलिमुल्लाह, जिसान मक्सुद फयाज बट, अकिब इल्यास र जतिन्दर सिंह्यले समान १ विकेट लिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*