विभिन्न माग राख्दै बाल विकास शिक्षकले बुझाए मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र

हेटौँडा, २५ बैशाख । नेपाल बाल विकास शिक्षक बागमती प्रदेश समितिले विभिन्न १० बुंदे माग राख्दै बागमती प्रदेशका मूख्यमन्त्री शालिकराम जम्कट्टेललाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

बाल विकास शिक्षकहरुलाई राज्यले चरम श्रम शोषण गरेको र हाल मासिक १७ हजार तलब भत्ता सबै केन्द्र सरकारले नदिएर स्थानीय तहलाई जिम्मा दिँदा धेरै स्थानीय तहहरुले मनोमानी ढंगबाट कम तलब–भत्ता वितरण गरेको भन्दै समितिले मूख्यमन्त्रीलाई ध्यानाकर्षण गराएको हो । समितिले पटक पटक गरेको आन्दोलनमा सरकारबाट सम्झौता गरिएता पनि सम्झौता कार्यान्वयन नभएको समितिले ध्यानाकर्षण पत्रमा उल्लेख गरेको छ ।

आईतबार समितिका अध्यक्ष शोभा अर्याल अधिकारी, सचिव सोनिया बिक लगायत अन्य बाल विकास शिक्षकहरुको सहभागितामा ध्यानाकर्षण पत्र बुझाइएको हो । समितिका अध्यक्ष शोभा अर्याल अधिकारी र सचिव सोनिया बिकद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा समितिले निम्न मागहरु गरेको छ ।
१.तत्कालका लागि तोकिएको रु. १७ हजार (तलबवृद्धि सहित) का साथै महङ्गी भत्ता समेत केन्द्र सरकारबाटै उपलब्ध हुने व्यवस्था मिलाईयोस् ।
२. तत्काल संचयकोषको व्यवस्था गरी गोल्डेन ह्याण्ड सेकको न्यायोचित व्यवस्था गरियोस् ।
३. बाल विकास शिक्षकको दरबन्दी कायम गरी आधारभूत तह, सो सरह सेवासुविधा उल्लेख गरी संघीय शिक्षा ऐनमा
समेटियोस् ।
४. प्रक्रिया पुराएर बालविकास शिक्षकहरुलाई आन्तरिक प्रतिस्पर्धाको आधारमा स्थायी गरियोस् ।
५. एकपटकको लागि शिक्षक सेवाको परिक्षामा उमेर हद नलगाईयोस् ।
६. कार्य अनुभव वापतको अंक गणना गरियोस् ।
७. संचित बिरामी बिदा वापतको रकम उपलब्ध गराईयोस् ।
८. बाल विकास केन्द्रहरुलाई मन्टेश्वरी कक्षाहरुको रुपमा व्यवस्थित गरी आवश्यक शैक्षिक सामग्रीहरु उपलब्ध गराईयोस् ।
९. बालविकास शिक्षकहरुको सक्षमता विकासका लागि तालिमको व्यवस्था गरियोस् ।
१०. प्रत्येक विद्यालयमा बाल उद्यानको निर्माण गरियोस् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*