यातायात व्यवस्था विभागले ल्यायो सार्वजनिक सवारीका लागि नयाँ नियमहरु

काठमाडौं । यातायात व्यवस्था विभागले मध्यम तथा लामो दूरीमा चल्ने सार्वजनिक सवारीका लागि नयाँ नियमहरु ल्याएको छ । सरकारले ल्याएको नियम पालना भएमा अब सार्वजनिक सवारी सफा हुनेछन् भने बस छट्नुअघि र गन्तव्यमा पुगेपछि विमानमाजस्तै बसमा पनि यात्रुका लागि सन्देशमुलक अडियो बज्नेछ ।

यातायात व्यवस्था कार्यविधि निर्देशिका,२०६० संशोधन गर्दै विभागले सवारीको व्यवस्थापन, सरसफाइ, स्वास्थ्य मापदण्डको पालना र चालकरसहचालकको बोली व्यवहारबारे नयाँ नियमहरू बनाएको छ । सवारीको भित्री र बाहिरी भागमा सफा राख्नुपर्ने निर्देशिकामा उल्लेख छ । सार्वजनिक सवारीको सिट खोल, भूईं, सिसा, पर्दा, सिलिङ अनिवार्य रूपमा सफा राख्नुपर्ने नियम पनि ल्याइएको छ ।

सार्वजनिक सवारी साधनभित्र धुम्रपान पूर्णरुपमा निषेध गर्नुपर्ने र सार्वजनिक सवारी साधनमा ध्वनि प्रदूषण हुने गरी ठूलो आवाजमा संगीत बजाउन नपाइने व्यवस्था पनि निर्देशिकामा गरिएको छ ।

सार्वजनिक सवारी साधनमा जनस्वास्थ्य विषयका प्रबर्द्धनात्मक सूचना टाँस्नुपर्ने र लामो तथा मध्यम दूरीका सवारी साधनले सरसफाइयुक्त खाना खाने स्थान तथा सरसफाइयुक्त शौचालय भएको स्थानमा मात्र आवश्यकता अनुसार रोक्नुपर्ने व्यवस्था भएको छ ।

व्यवस्थापकले सवारी चालक तथा सहचालकहरुको कम्तीमा तीन महिनामा एकपटक स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउनु पर्ने र चालु अवस्थामा रहेको सार्वजनिक सवारीमा संकलन भएको फोहोर तोकिएको स्थानमा मात्र विसर्जन गर्नुपर्ने लगायतका व्यवस्था पनि निर्देशिकामा गरिएको छ ।

सम्बन्धित कम्पनीले आफ्नो सवारी साधनको चलान वा क्यू कार्ड प्रदान गर्दा उक्त सवारीको नियमित सरसफाइ भएको व्यहोरा सुनिश्चित गरेको हुनुपर्ने व्यवस्था निर्देशिकामा नै गरिएको छ ।

मध्यम तथा लामो दूरीमा चल्ने सवारी साधनलाई यात्राको सुरु र अन्तिम विन्दुमा सरकारले तोकेअनुसार यात्रुका लागि जानकारीमुलक अडियो समेत बजाउनुपर्ने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*