विश्वकप छनोटमा नेपालको लय कायमै रहनेछ – आसिफ शेख

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका विकेटकिपर ब्याटर आसिफ शेखले विश्वकप छनोटमा पुरानै लयलाई कायम राख्ने विश्वास व्यक्त गरेका छन् ।

विश्वकप छनोटको तयारीका लागि दक्षिण अफ्रिकामा रहेका आसिफले आईसीसीसँगको कुराकानीमा नेपालको लय कायम रहने बताएका हुन् ।

क्रिकेट विश्वकप लिग टु मा नेपालले अन्तिम १२ मध्ये ११ खेल जित्दै विश्वकप छनोटमा स्थान पक्का गरेको थियो ।

जसमा नेपालले युएई विरुद्धको अन्तिम खेलमा डिएलएस मेथडमा ९ रनको रोमाञ्चक जित हात पारेको थियो । जसले कीर्तिपुरमा नेपाली क्रिकेट टिम र समर्थकमाझ खुशी छाएको थियो ।

‘यो छनोटमा पुग्नु अविश्वसनीय थियो,’ शेखले भने, ‘इमानदारीपूर्वक भन्नुपर्दा १२ मध्ये ११ खेल जित्नु अप्रत्याशित थियो । यो सामूहिक प्रयास थियो, सबैको योगदान छ ।’

आसिफले विश्वकपको मुख्य प्रतियोगितामा पुग्दै अर्को इतिहास बनाउने हो भने कडा मिहिनेत गर्ने समय आएको बताए ।

‘मलाई लाग्छ हामी हाम्रो क्रिकेटको साथ उत्कृष्ट यात्रामा छौं र हामी क्वालिफायरका लागि साँच्चै उत्साहित छौं ।’

नेपालले लिग टु मा ३६ मध्ये १९ खेल जित्दै ४० अंक जोडेर च्याम्पियन स्कटल्याण्ड र ओमान भन्दा पछि रहँदै तेस्रो भएको थियो । लिग टु बाट यही तीन टिम विश्वकप छनोटमा पुगेका थिए ।

विश्वकप छनोटमा भने नेपालले पूर्व विश्व विजेता वेष्ट इन्डिज र आयोजक जिम्बाव्वेसँगै समूह एमा छ । यस समूहमा नेदरल्याण्ड्स र अमेरिका पनि छन् ।

समूह बी मा श्रीलंका, आयरल्याण्ड, स्कटल्याण्ड, ओमान र युएई छन् । यी १० टिमबीच भारतमा हुने एकदिवसीय विश्वकपको बाँकी दुई स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*