भारतको बिहार र उत्तर प्रदेशमा गर्मीका कारण ९८ जनाको मृत्यु

नयाँ दिल्ली । नेपालसँग सीमा जोडिएका भारतको बिहार र उत्तर प्रदेश राज्यमा उखरमाउलो गर्मीका कारण ९८ जनाको मृत्यु भएको छ । भारतको उत्तर प्रदेश र बिहार राज्यमा पछिल्लो तीन दिनमा भीषण गर्मीका कारण ९८ जनाको मृत्यु भएको स्थानीय अधिकारीले सोमबार बताएका हुन् ।

गर्मीका कारण उत्तर प्रदेशमा ५४ जनाको मृत्यु भएको छ भने बिहारमा ४४ जनाको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार गर्मीका कारण बिरामी परी मृत्यु भएका अधिकांश व्यक्ति ६० वर्षभन्दा माथिका रहेका बताइएको छ ।

भारतीय मौसम विज्ञान विभाग (आईएमडी) को तथ्याङ्कअनुसार शुक्रबार र शनिबार देशका केही भागमा अधिकतम तापक्रम ४२।२ डिग्री सेल्सियस पुगेको थियो । यो सामान्यभन्दा ४.७ डिग्री सेल्सियस बढी हो ।

उत्तर प्रदेश राज्यको बलिया जिल्लामा गर्मीको सबैभन्दा धेरै प्रभाव रहेको बताइएको छ । बलियाका प्रमुख स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले लेखेका छन् ।

मृतकमध्ये अधिकांश कुनै न कुनै रोगबाट पीडित रहेको अधिकारीले जनाएका छन् । अत्यधिक गर्मीका कारण उनीहरुको अवस्था थप बिग्रिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । अधिकारीका अनुसार बिहीबार २३, शुक्रबार २० र शनिबार ११ जनाको मृत्यु भएको थियो ।

यसबाहेक बलियाको एक जिल्ला अस्पतालमा पछिल्लो तीन दिनमा कम्तीमा ४०० जनालाई भर्ना गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । गर्मीका कारण ज्वरो आउने, सास फेर्न गाह्रो हुने र अन्य स्वास्थ्य समस्या देखिएको बिरामीले गुनासो गरेका थिए ।

जिल्ला प्रशासनका अनुसार बिरामी र कर्मचारीलाई गर्मीको जोखिम हुन नदिन सरकारी अस्पतालमा पङ्खा, एयरकुलर र एयर कन्डिसनरको व्यवस्था गरिएको छ । बिरामीको चापका कारण अस्पतालमा चिकित्सक र प्यारामेडिकल स्टाफको सङ्ख्या बढी रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*