आईसीसी विश्वकप छनोटमा आज नेपाल र नेदरल्यान्ड्स भिड्दै, नेपाल जित्नै पर्ने दबाबमा

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत आज शनिबार नेपाल र नेदरल्यान्ड्सबीच खेल हुदैछ ।

नेदरल्यान्ड्सविरुद्ध नेपालको खेल टाकासिंगा स्पोर्टस् क्लबमा नेपाली समय अनुसार दिउँसो पौने १ बाट सुरु हुदैछ ।

सुपर सिक्समा पुग्न नेपालले नेदरल्यान्ड्सलाई हराउन बाहेक कुनै विकल्प छैन । विजयी भएमा सुपर सिक्समा पुग्ने उच्च सम्भावना हुनेछ । अन्तिम खेलमा नेदरल्यान्ड्सले सोमबार वेस्ट इन्डिजसँग पनि हार्नुपर्ने हुन्छ ।

यदि नेपाल पराजित भएको खण्डमा समूह चरणबाटै बाहिरिने पक्का हुनेछ ।

नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो । नेपालले तेस्रो खेलमा वेस्टइन्डिजसँग १ सय १ रनको फराकिलो हार व्येहोर्न पुगेको थियो ।

नेदरल्यान्ड्स जिम्बावेसँग ६ विकेटले पराजित भएको थियो । नेदरल्यान्ड्सले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । नेपाललाई हराउँदा नेदरल्यान्ड्स औपचारिक रुपमा सुपर सिक्समा पुग्नेछ ।

दक्षिण अफ्रिकामा भएको अभ्यास खेलमा नेदरल्यान्ड्ससँग नेपाल पराजित भएको थियो । पछिल्लो समय नेदरल्यान्ड्सले टेस्ट टोली सहभागी सुपर लिग खेलेको थियो ।

हालसम्म नेपाल र नेदरल्यान्डबीचमा २ ओडिआई खेल भएको छ । २ मध्ये १ खेलमा नेपालले र अर्को खेलमा नेदरल्यान्ड्स विजयी भएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*