मकवानपुरको स्थानीय तहहरुको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक

हेटौंडा । दश स्थानीय तह रहेको मकवानपुरका स्थानीय तहले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।

जिल्लाको बकैया र मनहरी गाउँपालिकाले आज नीति तथा कार्यक्रम मात्र प्रस्तुत गरेको छ । बकैयाले मदिरा निषेधको कार्यक्रम अघि सारेको छ भने मनहरीले गुट्खाजन्य पदार्थ बिक्री वितरण निषेधको नीति अघि सारेको छ ।

जिल्लाको बागमती गाउँपालिकाले आज नीति तथा कार्यक्रम र बजेट ल्याउन सकेन । बागमतीले असार १५ गते भित्र बजेट ल्याउने बताइएको छ ।

यसैगरी, राक्सिराङ गाउँपालिकाले पालिका क्षेत्रमा बसाइ सरेर आउने परिवारको लागि २ कोठाको घर निर्माण गरिदिने कार्यक्रम सहित ५७ करोड ८८ लाखको बजेट सार्वजनिक गरेको छ । गाउँबाट सहर क्षेत्रमा बसाइँसराइ दर उच्च भएपछी गाउँपालिकाले घर उपहार कार्यक्रम ल्याएको उपाध्यक्ष बनस्थम थिङले बताए ।

मकवानपुरकै कैलाश गाउँपालिकाले ४८ करोड ५९ लाखको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले सडक तथा झोलुङ्गे पुल निर्माण र कृषिलाई प्राथमिकतामा राखेको उपाध्यक्ष बालकुमार मल्लले बताए ।

इन्द्रसरोवर गाउँपालिकाले ४४ करोड ३४ लाखको बजेट ल्याएको छ । इन्द्रसरोवरले कृषि र पर्यटन क्षेत्रलाई बजेटमा प्राथमिकता दिएको छ ।

भीमफेदी गाउँपालिकाले रैथाने बालिलाई अनुदान दिने कार्यक्रम सहित ६८ करोड ५४ लाखको बजेट विनियोजन गरेको छ । गाउँपालिकाले भौतिक पुर्वाधार, पर्यटन र कृषिलाई प्राथमिकतामा राखेको गाउँपालिका अध्यक्ष हिदम लामाले बताए ।

मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले ६२ करोड २ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले कृषि तथा पशुपालनलाई प्राथमिकतामा राख्दै किसान लक्षित कार्यक्रमहरुलाइ प्राथमिकतामा राखेको छ ।

मकवानपुरको थाहा नगरपालिकाले ९८ करोड ८८ लाखको बजेट ल्याएको छ । थाहाले कृषि, पुर्वाधार विकास, शिक्षा, स्वास्थ्य, सामाजिक विकास, सुशासन , उद्यमशिलता र रोजगारी , विपद् व्यवस्थापन र क्षमता विकासलाइ प्राथमिकतामा राखेको छ ।

हेटौंडा उपमहानगरले भने गत असार २ गते २ अर्व ६० करोडको बजेट सार्वजनिक गरेको थियो । हेटौंडाले भौतिक पुर्वाधारको कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*