थाइल्यान्डमाथि फराकिलो जित निकाल्दै नेपाल सेमिफाइनलमा

काठमाडौँ । मलेसियामा जारी एसिसी यु-१६ इस्टर्न जोन कप क्रिकेट प्रतियोगितामा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ। बुधबार भएको खेलमा थाइल्यान्डलाई ४४ रनमा अलआउट गर्दै २२५ रनको फराकिलो जितसँगै नेपालले अन्तिम चारमा स्थान पक्का गरेको हो।

थाइल्यान्डविरुद्ध हावी भएको नेपाली किशोर टिमले पहिले ब्याटिङ गर्दै २७० रनको उच्च स्कोर तयार गरेको थियो। मलेसियामा जारी प्रतियोगितामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाएर २६९ रनको उच्च स्कोर बनाएको थियो।

जवाफमा थाइल्यान्डका कुनै पनि खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन्। जितको लागि २७० रनको विजयी लक्ष्य पछ्याएको थाइल्यान्ड १३।२ ओभरमा ४४ रनमा अल आउट भयो।

थाइल्यान्डका लागि ईशानले १६ रन बनाउनु सर्वाधिक रह्यो। नेपालको कसिलो बलिङसामु निरीह रहेका थाइल्यान्डका ९ खेलाडीले दोहोरो रनको स्कोर बनाउन सकेनन्।

थाइल्यान्डलाई सस्तैमा समेट्न नेपालका स्पिनर सन्तोष यादवले ह्याट्रिकसहित ५ विकेट लिँदा अशोक धामीले ३ विकेट लिए। त्यस्तै, अभिषेक तिवारीले २ विकेट हात पारेका थिए।

त्यसअघि नेपालका लागि ओपनर निरज कुमार यादव र सूर्यांशु कोइरालाले पहिलो विकेटका लागि सानदार साझेदारी गरे। उनीहरूले पहिलो विकेटका लागि ११० रनको शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए। सूर्यांशु ५५ बलमा ३ चौकासहित ४० रनमा बोल्ड हुँदा निरजले भने ४३ बलमानै ६ छक्का र ७ चौकाको सहयोगमा ७४ रनको इनिङ खेले।

त्यस्तै, नरेन भट्ट ४३ बलमा ५ चौकासहित ५५ रनमा नटआउट रहँदा सन्तोष यादव ३६ बलमा ४ चौका र १ छक्कासहित ४२ रनमा आउट भए। आषिश लुहार १३, अशोक धामी ५ र अभिषेक तिवारी १४ रनमा आउट भएका थिए।

थाइल्यान्डका निटपाखन मनुवुनले २ विकेट लिँदा ईशान बानेर्जीले पनि २ विकेट लिएका थिए। जित सादा र पियावत नोद्रीले एक एक विकेट लिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*