जापान निर्यात भयो हेटौंडामा बनेको फोहोर व्यवस्थापन गर्ने मेसिन

हेटौँडा । फोहोरबाट नवीकरणीय ऊर्जा हाइड्रोजन ग्यास क्लिंकर उत्पादन गर्ने नेपालमै बनेको मेसिन जापान निर्यात सुरु भएको छ । आइतबार बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले उक्त मेसिन जापान निर्यातको सुभारम्भ गरेका हुन् ।
जापानी कम्पनी यामातो इन्टरनेशनलले हेटौंडा उपमहानगरपालिका वडा नम्बर–८ मा फोहोर व्यवस्थापन गरी नवीकरणीय उर्जा उत्पादन गर्ने मेसिन बनाउने कारखाना सञ्चालन गरेको हो । यहाँबाट उत्पादित मेसिन जापान निर्यात भइरहेको छ ।

कानुनी जटिलताका कारण नेपालमा भने मेसिन बिक्री गर्न समस्या भएको छ । विश्व बजारमा फोहोर चुनौतीका रुपमा देखिएका कारण फोहोरबाट नवीकरणीय उर्जा बनाउँदा फोहोर व्यवस्थापन सहज हुने जापानीज वैज्ञानिक मासामोरा यामाजीले बताए ।

यहाँ उत्पादित ३ वटा मेसिन ३ करोड रुपैयाँदेखि ५ करोड रुपैयाँसम्मका जापान निर्यात भइसकेको यामातो इन्टरनेसनलका नेपाली सञ्चालक कृष्ण खतिवडाले बताए । मेसिनले फोहोरमा भएका टिन, फलाम लगायतका बस्तु छानेर अलग गरिदिन्छ ।

कुहिने तथा नकुहिने फोहोर प्रशोधन गरेर ऊर्जा उत्पादन, क्लिंकर, पत्थर कोइला र मललगायतका सामग्री उत्पादन हुने खतिवडाले जानकारी दिए । मेसिनभित्र जडान भएका सिस्टमले फोहोर छान्ने, पिस्ने, सुकाउने र उत्पादन गर्ने कार्य गर्ने हुनाले फोहोर व्यवस्थापन सहजै गर्न सकिने उनको भनाइ छ । मेसिनले प्लाष्टिकजन्य फोहोरलाई जलाउने नभएर रासायनिक प्रक्रियाबाट नष्ट गर्ने भएकाले पनि यो वातावरणमैत्री भएको निर्माण कम्पनीको दाबी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*