शेयर बजारमा मंगलबार पनि सामान्य सुधार

काठमाडौं । शेयर बजारमा मंगलबार पनि सामान्य सुधार जारी रह्यो ।

उतार चढावबीच बजार परिसूचक नेप्से करिब १० अंकले उकालो लागेर २१ सय ५४ कायम भयो । कारोबार सुधारिएर साढे ३ अर्बमाथि पुग्यो ।

सोमबार ४७ अंकको उछाल आएपनि कारोबार अढाई अर्बमा सीमित रहेको थियो । मंगलबार पनि नेप्से मध्यान्ह २१ सय ७० सम्म पुगेर अन्तिममा सिथिल भएको हो ।

सोमबार अधिकांश समूहमा हरियाली छाएकोमा मंगलबार ५ वटा समूह ऋणात्मक रहे । सोमबार साढे ४ प्रतिशतको वृद्धि आएको विकास बैंक समूह मंगलबार करिब १ प्रतिशतले घट्योे । मंगलबार विकास बैंकसँगै होटल तथा पर्यटन, जलविद्युत, वित्त अनि सामूहिक लगानी कोष ओरालो लाग्दा बाँकी समूह उकालो लागे । निर्जीबन बीमा समूहम सबैभन्दा उच्च डेढ प्रतिशतको वृद्धि आयो ।

उत्पादनमूलक र वाणिज्य बैंक समूहमा पनि १ प्रतिशतमाथिको वृद्धि आउँदा बाँकी सामान्य अंकले सकारात्मक रहे । मंगलबार नेपाल स्टक एक्सचेन्जमा २ सय ५५ कम्पनीको ८६ लाख ७६ हजार कित्ता शेयर ३ अर्ब ५५ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

मंगलबार कमाउने र गुमाउने कम्पनीको संख्या बराबरी जस्तै रह्यो । १ सय १ कम्पनीको शेयर मूल्य बढ्दा १ सय ६ कम्पनीको घट्यो । मंगलबार पनि बीपीडब्लू लघुवित्त, यूनाईटेड अजोड इन्स्योरेन्सका लगानीकर्ताले उच्च १० प्रतिशत हाराहारीमा कमाए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*