लम्पी स्किनबाट कोशी प्रदेशमा २ लाख बढी पशु सङ्क्रमित

विराटनगर । महामारीको रुपमा फैलिएको लम्पी स्किन रोगबाट कोशी प्रदेशका २ लाख २५ हजार ४ सय २३ गाईभैँसी सङ्क्रमित भएका छन् ।

राँगा भैसीभन्दा गाईगोरुमा यो रोगको समस्या बढी देखिएको छ । लम्पी स्किनबाट हालसम्म प्रदेशमा ५ हजार ४२ गाईभैँसी मरेको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय विराटनगरले जनाएको छ ।

निर्देशनालयका फोकल पर्सन डा। देवकुमार दर्लामीले लम्पी स्किनको सङ्क्रमण कोशीका सबै जिल्लामा फैलिएको र इलाम, झापा, मोरङ, पाँचथर, सुनसरी र उदयपुरमा सबैभन्दा बढी क्षति भएको बताउनुभयो ।

प्रदेशभर ४ हजार ९ सय ७९ गाईगोरु र ६१ रागाभैँसी मरेका छन् । ती मध्ये सबैभन्दा बढी इलाममा १ हजार ३ सय ८२ गाईगोरु र राँगाभैँसी मरेको निर्देशनालयले जनाएको छ । मृत्युदर इलाममा धेरै भए पनि प्रभावित पशु पाँचथरमा धेरै छन् ।

लम्पी स्किनको सङ्क्रमण गाईगोरुको तुलनामा राँगा भैँसीमा न्यून संख्यामा देखिएको छ । कोशी प्रदेशमा सङ्क्रमित संख्यामध्ये गाईगोरु २ लाख २३ हजार ७ सय २६ छ भने राँगाभैँसीको संख्या १ हजार ८ सय १७ मात्र रहेको छ ।

लम्पी स्किन रोगको सङ्क्रमण रोक्न कोशी प्रदेश सरकारले ११ जिल्लामा पशुमा खोप लगाउने अभियान सञ्चालन गरिरहेको छ । निर्देशनालयका निमित्त प्रमुख डा। पशुपति ढुङ्गानाले कोशी प्रदेशका सबै जिल्लाका १ लाख ७ हजार ५ सय १० पशुलाई लम्पी स्किनविरुद्धको खोप लगाइएको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*