हेटौंडामा डेङ्गु नियन्त्रणको अभियान सुरु गरिदै

हेटौंडा । डेङ्गुको उच्च जोखिमका रूपमा रहेको हेटौंडा उपमहानगरपालिका क्षेत्रमा सङ्क्रमण रोक्न पूर्वतयारी थालिएको छ । हेटौंडा उपमहानगरपालिकाले कार्यपालिका बैठकमै छलफल समेत गरेर डेङ्गु नियन्त्रणको अभियान सुरु गर्न लागेको हो ।

उपमहानगरपालिकाले स्वास्थ्य साखा मार्फत यसको अभियान सुरु गर्न लागिएको हो । बर्षायाम सुरु भएकाले डेङ्गुको जोखिम पनि बढ्दै गएकाले यसको नियन्त्रणका लागि अभियान सुरु गर्न लागिएको उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले बताउनुभयो ।

हेटौंडामा डेङ्गुको उच्च जोखिममा रहेकाले नियन्त्रणका लागि पूर्वतयारीका साथ कार्ययोजना तयार पारिएको र कार्यपालिका बैठकमा छलफल समेत भएको र अब काम सुरु गरिने उहाँले बताउनुभयो । लामखुट्टेले बसोबास गर्न सक्ने ठाउँ, सवारीसाधन मर्मत गर्ने ठाउँ, पानी जम्ने ठाउँ, उद्योग, कलकारखानालगायत ठाउँमा नियमित सरसफाइ गर्ने तथा पानी जम्न नदिन अभियान सञ्चालन गरिने भएको हो ।

बिगतका वर्षहरुमा पनि डेङ्गुका कारण धेरै बिरामी पर्ने गरेको र यस वर्ष पनि डेङ्गुका विरामी हेटौंडा अस्पतालमा देखा पर्न थालेका छन् । त्यसैले यसको नियन्त्रणका लागि अभियानै सुरु गरिने भएको हो । लामखुट्टेको बासस्थानको ‘खोज र नष्ट गर’ राष्ट्रिय अभियान सञ्चालन गर्ने, उपमहानगरपालिकाको स्वास्थ्य प्राविधिक र उपलब्ध आपूर्ति व्यवस्था मिलाउने, स्थानीय तहका स्वास्थ्य शाखा, विद्यालय र स्थानीय स्वास्थ्य संस्थालाई डेङ्गुविरुद्धको प्रतिकार्य सञ्चालन गर्न आग्रह गरिएको छ ।

उपमहानगरमा चेतनामूलक सामग्रीलाई वडा र टोल तहमा विभिन्न माध्यमबाट उपलब्ध गराउने र त्यस अनुसार काम गर्ने तयारी रहेको छ । बिगतका वर्षहरुमा सबै भन्दा बढी हेटौंडाको ४ नम्बर वडामा डेङ्गुका बिरामीहरु थिए । अहिले हेटौंडा अस्पतालमा पनि डेङ्गुका बिरामीहरु दिनहुँ बढ्दै गएको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*