भारी वर्षाका कारण दाङको देउखुरी डुबानमा

दाङ । भारी वर्षाका कारण दाङको देउखुरी क्षेत्रका केही स्थान डुबानमा परेका छन् ।

गएरातिदेखि लगातार परेको पानीका कारण देउखुरीका लमही नगरपालिका, गढवा र राजपुर गाउँपालिकाका विभिन्न ठाउँहरु डुबानमा परेको जिल्ला आपतकालिन कार्य संचालन केन्द्रले जनाएको छ । लमहीको सुनडबरी, राजपुर ५ भुर्कीहवामा केही घर ठाउँ डुबानमा परेको केन्द्रले जानकारी दिएको छ ।

त्यस्तै लमही- ३ कौडिया (कान्तिपुर गाउँ)का घर डुबान परेका र दुईवटा घरबाट सशस्त्र प्रहरी बल नं. ४१ रिजर्भ गण अर्जुनखोला (कपिलवस्तु)ले उद्धार गरेको छ । रिजर्भ गण अर्जुनखोलाका प्रमुख पुरन भट्टको टोलीले उद्धार गरी सुरक्षित स्थानमा लगेको छ ।

त्यस्तै देउखुरीमा खहरे खोलामा बाढी आउदा बस्तीहरु जोखिममा परेका छन् । कौडिया खोला र सिंगे खोलामा बाढी आउँदा तल्लो तटीय क्षेत्रमा रहेका बस्ती डुबानको उच्च जोखिममा छन् । अहिले पनि पानी परिरहेकाले दिनभर सतर्क रहन अपिल गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागले सार्वजनिक सूचना जारी गर्दै पछिल्लो समयमा भारी वर्षा भएका कारण राप्ती र बबईलगायत अन्य‍ नदीहरूको जलसतह बढ्न सक्ने भन्दै सतर्क रहन अपिल गरेको छ । दाङका बगासोती, लालमटिया, घोराही, शुक्रबारे, भालुबाङ, लमही, रातामाटा लगायतका स्थानमा भारी वर्षा मापन भएको छ। अनलाइनखबरबाट साभार

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*