हेटौंडाको बजार क्षेत्रका घरहरु मुआब्जा बिना भत्काउन नदिन सक्ति प्रदर्शन
हेटौंडा । हेटौंडाको मुख्य बजार क्षेत्रका घरहरु बिना मुआब्जा भत्काउन नदिन उद्योगी, व्यावसायी र घरधनीहरुको सक्ति प्रदर्शन गरेका छन् । आज हेटौंडाको रातोमाटे देखि चौकिटोल सिरान क्षेत्र र रापतीरोड क्षेत्रका अधिकांश घरधनी, उद्योगी, व्यावसायीहरु, बिभीन्न राजनीति दलका नेताहरु सहितले हेटौंडाको मुख्य बजार क्षेत्रमा नारा र जुलुस गर्दै शक्ति प्रदर्शन गरेका हुन् ।
मकवानपुर उद्योग बाणिज्यसंघ र हेटौंडा बसोबास संरक्षण समितिको आयोजनामा लालपूर्जा भएका घर, जग्गाहरुको क्षेतिपूर्ति दिएर मात्र सडक विस्तार गर्नका लागि उनीहरुले माग गरेका हुन् । आज दिउसो हेटौंडाको बुद्धचोकमा जम्मा भएका उद्योगी व्यावसायीहरु र घरधनीहरुले बिना मुआब्जा घर भत्काए त्यसको प्रतिकारमा उत्रने चेतावनी पनि दिएका हुन् ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गतको पथलैया नारायणगढ सडक खण्डको विस्तारको विषयले यतिबेला हेटौँडा तातिएको छ । हरेक दिन सडक विस्तारको विषयमा कुनै न कुनै मुद्दाले चर्चा पाउने गरेको छ ।
सडक डिभिजन कार्यालय हेटौंडाले पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडाको मुख्य बजार क्षेत्रमा सडक दायाँ, बायाँ २५ गज सडक विस्तार गर्ने भएपछी यहाँका घरधनी र व्यावसायीहरुले लालपूर्जा आफुहरुसंग भएकाले त्यसको मुआव्जा दिएर मात्र भत्काउनका लागि दवाव सृजना गरेका हुन् ।
हरेक वर्ष हेटौंडा उपमहानगरपालिकालाई कर तिर्दै आएको र त्यो लालपूर्जामा उल्लेख भएको जग्गा बिना क्षतिपूर्ति भत्काउन नपाउने मकवानपुर उद्योग बाणिज्यसंघका अध्यक्ष कृष्ण प्रसाद गुप्ता अग्रवालले बताउनुभयो । मुआब्जा विवाद र व्यवसायीको व्यवस्थापनको विषयमा हेटौँडा बजार क्षेत्रका नागरिक तथा व्यवसायीहरू सडक विस्तारको विरुद्धमा सङ्घर्षमा छन् भने ३५ दिने सूचना जारी गरेको डिभिजन सडक कार्यालय हेटौँडा सडक विस्तारको लागि साउन १५ कुरेर बसेको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा बजार क्षेत्रको घना मानव बस्तीका कारण विगत देखि नै सडक विस्तारमा समस्या हुँदै आएको थियो । हेटौँडा बजार क्षेत्रका कारणले नै पूर्व पश्चिम राजमार्ग अन्तर्गतको पथलैया नारायणगढ सडक खण्डको विस्तार कार्य हुन सकेको छैन । दक्षिण तर्फ हेटौँडाको रातोमाटेदेखि बुद्धचोक र बुद्ध चोकबाट पश्चिम तर्फ राप्ती पुलसम्मका घरटहरा हटाउन नसक्दा सडक विस्तरमा बाधा पुग्दै आएको सडक कार्यालयका कर्मचारीहरु बताउँछन् ।