हेटौंडा उपमहानगरपालिकाको सवारी चालक होटलमा मृत फेला

इलाम । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको सवारी चालक इलामको एक होटलमा मृत फेला परेका छन् ।

सूर्योदय नगरपालिका–४, अन्तुभञ्ज्याङको मुनलाईट होटलमा हेटौंडा उपमहानगरका चालक अन्दाजी ५० वर्षीय सञ्जु लोप्चन तामाङ मृत फेला परेको इलामको पशुपतिनगर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सन्तोष राईले जानकारी दिए ।

उनका अनुसार हिजो शनिबार उपमहानगरका कर्मचारीहरुसहित तामाङ ना ४ च ७४८३ नम्बरको गाडीमा अन्तुभञ्ज्याङ आइपुगेका थिए ।

उनी गएराति करिब ११ बजे कर्मचारीहरूसँगै खाना खाएर सुतेका थिए । बिहान साढे ५ बजे कर्मचारीहरु उठेर उनलाई उठाउन खोज्दा मृत फेला परेको प्रहरीले जनाएको छ ।

शव सोही होटलमा रहेको छ । परिवार र उपमहानगरपालिकालाई खबर गरिसकेको इन्स्पेक्टर राईले बताए ।

‘परिवारका सदस्यहरुले आफूहरु आउँदै गरेको खबर गर्नुभएको छ । आफूहरु नआउञ्जेल शव नउठाउनु भन्नु भएकाले हामीहरु आफन्तलाई कुरिरहेका छौँ ।’ इन्स्पेक्टर राईले भने ‘परिवारका सदस्यहरु उपमहानगरकै गाडीमा आइरहनु भएको भन्ने जानकारी आएको छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*