अलैँचीको मूल्य वृद्धि भएपछि किसान उत्साहित

फुङ्लिङ । गत वर्षभन्दा यस वर्ष दोब्बर बढी मूल्यमा अलैँचीको कारोबार हुन थालेको छ । अलैँचीको नयाँ फसल ९उत्पादन० बजारमा आउन थालेसँगै गत वर्षभन्दा दोब्बर बढी मूल्यमा कारोबार हुन थालेको हो ।

बजारमा आउन थालेसँगै नयाँ अलैँचीले उचित मूल्य पाउँदा किसान तथा व्यवसायी उत्साहित भएका छन् । सदरमुकाम फुङ्लिङ बजारमा हिजोआज नयाँ अलैँची प्रतिमन (४० किलोग्राम) रु ५६ हजारसम्ममा कारोबार भइरहेको छ ।

भदौको पहिलो सातापछि बजारमा आउन थालेको अलैँचीको मूल्य गत वर्षको तुलनामा दोब्बर रहेको स्थानीय व्यापारीले बताएका छन् । अलैँची व्यवसायी सङ्घ ताप्लेजुङका अध्यक्षसमेत रहनुभएका स्थानीय व्यापारी भद्रवीर रेग्मीले नयाँ अलैँची प्रतिमन रु ५५ हजारदेखि रु ५६ हजारसम्ममा कारोबार भइरहेको बताए ।

रेग्मीका अनुसार गत वर्ष यही मौसममा अर्थात् नयाँ अलैँची बजारमा आउन थाल्दा प्रतिमन रु २४ हजारदेखि रु २७ हजार मात्र मूल्य थियो । उनले मूल्य अस्थिर रहे पनि स्थानीय बजारमा अहिले अलैँचीले उचित मूल्य पाइरहेको बताए ।

अलैँची व्यापारी दिनेश अधिकारीका अनुसार एक साताअघि नयाँ अलैँची प्रतिमन रु ६० हजारमा कारोबार भएको थियो । त्यसपछि तीन दिनअघि प्रतिमन रु ५७ हजारमा कारोबार भएको अलैँची शुक्रबार भने रु ५६ हजारमा कारोबार भएको उनले जानकारी दिए । ‘अहिलेको मूल्य गत वर्षभन्दा दोब्बर बढी हो’, अधिकारीले भने ।

भारतसहितका मुलुकबाट माग रहेकाले सुरुमा नयाँ अलैँचीले राम्रै मूल्य पाएको व्यवसायी बताउँछन् । अलैँची व्यवसायी सङ्घका अनुसार अहिलेको मूल्य पछिसम्म कायम रहेमा वा थप वृद्धि भएमा किसान तथा व्यवसायीलाई राम्रो फाइदा हुने देखिन्छ ।

नेपालमा उत्पादन हुने अलैँचीको मूल्य अन्तर्राष्ट्रिय बजारको भरमाथि निर्भर हुने हुँदा मूल्य भने अनिश्चित रहने सङ्घका अध्यक्ष रेग्मीको भनाइ छ । यस वर्ष अलैँची उत्पादनमा भने गिरावट आउने बताइएको छ । विगतको तुलनामा यो वर्ष झण्डै आधाले उत्पादन घट्ने किसान बताउँछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*