छुट्टाछुट्टै घटनामा दुई बालकको मुत्यु भएपछि वीरेन्द्रनगर अशान्त

सुर्खेत । छुट्टाछुट्टै घटनामा दुई जना बालकको मुत्यु भएपछि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर शनिबार विहानैदेखि अशान्त छ ।

वीरेन्द्रनगर नगरपालिका–३ स्थित गोकुल कटेज नजिकै मोटरसाइकलको ठक्करबाट दैलेखको आठबीस नगरपालिकाका पाँच वर्षीय टुकदर्शन गिरीको मृत्यु भएपछि आफन्त र स्थानीय बासिन्दाले वीरेन्द्रनगरको मंगलगढी चोकमा प्रर्दशन गरिरहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते गिरीको उपचारको क्रममा शनिबार विहान कर्णाली केयर अस्पतालमा मृत्यु भएको थियो । बालकको मृत्यु भएपछि उनका आफन्तहरुले वीरेन्द्रनगरको जुम्ला रोडको चारलेन सडक बिहानैदेखि अवरुद्ध गरेका छन् ।

यरीचोकमा केन्द्रित आन्दोलनकारीहरु बजार बन्द गराउँदै हिँडिरहेका छन् । केही आन्दोलनकारीहरु मंगलगढी चोकमा टायर बालेर प्रर्दशन गरिरहेका छन् । बजार क्षेत्रमा बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ । प्रहरीले आन्दोलनलाई नियन्त्रणमा लिन खोजेपछि आन्दोलनकारी र प्रहरीबीच मंगलगडि चोकमा झडप समेत भएको छ ।

बजार क्षेत्रको सडक बन्द गराउँदा नागरिकले सास्ती भोगिरहेका छन् । दुर्घटनालगत्तै फरार मोटरसाइकल चालकलाई पक्राउ गरी मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने आफन्तहरुको माग छ ।

मोटरसाइकल नम्बर नखुलेकाले उनको खोजीका लागि प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ । सुर्खेत प्रशासनले आन्दोलन नियन्त्रणमा लिन नसक्दा आन्दोलकारी थप उग्र बनेका छन् ।

शनिबार नै वीरेन्द्रनगर नगरपालिका– ६, को मुख्य बजार क्षेत्रमा रहेको उषा बालवाटिका सेकेण्डरी स्कुलको होस्टेलमा एक ८ वर्षका बालक मृत भेटिएपछि सुरु भएको आन्दोलन पनि उग्र बन्दै गएको छ ।

घण्टाघर नजिकको उक्त होस्टेलमा गएराति चामुण्डा बिन्द्रासैनी नगरपालिका दैलेखका सलाम पुलामी मगर झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । उनी कक्षा २ मा पढ्थे । बालकको मृत्यु शंकास्पद रहेको भन्दै उनका आफन्तहरु विद्यालमा तोडफोड र आगजानी गरेका छन् ।
बालकको शव बुझ्न नमानेका आफन्तले विद्यालयमा आगजनी गरेपछि प्रहरीले हस्तक्षेप गरेको छ । स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

आफन्तहरुले घटना शंकास्पद रहेको भन्दै शव उठाउन मानेका छैनन् । घटनास्थलको मुचुल्का गरेर शव उठाउने काम भइहरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी योगेन्द्रसिंह थापाले जानकारी दिए ।

घटनाको छानबिन गर्नुपर्ने भन्दै आक्रोशित भिड तोडफोडमा नै उत्रिएपछि भिडलाई साम्य पार्न प्रहरीले अश्रु ग्याँस समेत प्रहार गरेको थियो । प्रहरी र आन्दोलनकारीबीचको झडपले उषा विद्यालयको परिसर तनावग्रस्त बनेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*