संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस आज राति नेपाल आइपुग्ने

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपालको भ्रमणका लागि आज राति काठमाडौं आईपुग्दै हुनुहुन्छ ।

गुटेरस आज राति १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको निमन्त्रणमा नेपाल आउन लाग्नुभएका महासचिव गुटेरसको औपचारिक भ्रमण भोलिदेखि सुरु हुने छ ।

भोलि दिउँसो गुटेरस र परराष्ट्रमन्त्री एनपी साउदबीच भेटवार्ता हुने छ भने त्यस लगत्तै गुटेरसले प्रधानमन्त्री दाहाल र राष्ट्रपति रामचन्द्र पौडेलसंग भेटवार्ता गर्नुहुने छ । भोलि नै पूर्व प्रधानमन्त्रीहरुले गुटेरसलाई सामूहिक रुपमा भेट्ने कार्यक्रम पनि रहेको छ ।

भोलि नै पाटन दरबार क्षेत्रको अवलोकन भ्रमण गर्नुहुने गुटेरस राती प्रधानमन्त्री दाहालको दिने रात्रीभोजमा सहभागी हुनुहुनेछ । आगामी सोमबार महासचिव गुटेरस जलवायु परिवर्तनको असरको जानकारी लिन सोलुखुम्बुको स्याङ्बोचे जानु हुने छ भने सोमबार साँझ बास बस्न पोखरा जाने कार्यक्रम रहेको छ ।

मंगलबार विहान पोखराबाट अन्नपूर्ण आधार शिविरको छोटो पदयात्रामा जाने कार्यक्रम पनि रहेको छ । एबीसीबाट फर्केपछि सोही दिन पोखरा विमानस्थलमा पत्रकार सम्मेलन गरी उहाँ साँझ वुद्ध जन्मस्थल लुम्बिनी जाने कार्यक्रम रहेको छ ।

आगामी बुधबार लुम्बिनीबाट फर्केपछि अपरान्ह ४ बजे नेपालको संसदका दुवै सदनको संयुक्त बैठकलाई गुटेरसले सम्बोधन गर्नुहुने छ । सरकारले महासचिव गुटेरसको भ्रमणलाई नेपालको शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउनका लागि सदुपयोग गर्ने तयारी गरेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*