एमाले बागमतीका मुख्यमन्त्री जम्कट्टेलप्रति आक्रोशित
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलप्रति नेकपा एमाले आक्रोशित बनेको छ । नेकपा एमाले बागमती प्रदेश संसदीय दलको मंगलबार र बुधबार बसेको बैठकले मुख्यमन्त्री जम्कट्टेलले केही समय अघि दिएको अभिव्यक्ति प्रति आपत्ति समेत जनाएको हो ।
मुख्यमन्त्री जम्कट्टेलले सार्वभौम संसदले गरेको निर्णयका विरुद्ध गएर गैरजिम्मेवार अभिव्यक्ति दिएको बैठकले निष्कर्ष निकालेको थियो । सोही बैठकको निर्णय अनुसार मुख्यमन्त्री जम्कट्टेलको उक्त अभिव्यक्तिले सामाजिक सद्भावमा खलल पुर्याउने काम गरेको एमालेको ठम्याइरहेको छ । मुख्यमन्त्री जम्कट्टेलको सो अभिव्यक्ति प्रदेशमा राजनीतिक अस्थिरताको सुरुवात हुने एमालेले जनाएको छ ।
बैठकले संसदको अघिल्लो कार्यकालले बागमती प्रदेशको नामकरण लगायतका ऐतिहासिक विषयहरूमा टुङ्गो लगाइसकेकोमा त्यसका विरुद्ध गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै विरोध जनाएको हो । एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्री जम्कट्टेलको अभिव्यक्तिले अस्थिरता निम्त्याउने खेल सुरु गरेको र त्यसतर्फ जनतालाई सचेत हुन अनुरोध गरेका छन् ।
मुख्यमन्त्री जम्कट्टेलले वैदेशिक भ्रमणमा जानुअघि गत असोज ३ गते भक्तपुरको मध्यपुर थिमिमा नेकपा (माओवादी केन्द्र) मध्यपुर नगर समितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बागमती प्रदेशको नाम र राजधानी परिवर्तन गर्नुपर्ने बताएका थिए । प्रदेशको नाम र राजधानी दुवै अनुपयुक्त रहेको भन्दै धेरै जनता खुसी नभएको दाबी समेत गरेका थिए ।