आजबाट एनएसएलको दोस्रो संस्करण सुरु हुदै
काठमाडौं । फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करण आज शुक्रबारबाट सुरु हुदैछ ।
नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट कम्पनीको आयोजनामा हुन लागेको प्रतियोगिताका टिमहरु नेपालका ९ शहरबाट बनाईएको छ ।
प्रतियोगिता धनगढी एफसी, बुटवल लुम्बिनी एफसी, चितवन एफसी, काठमाडौ रेजर्स, ललितपुर सिटी एफसी, पोखरा थन्डर्स, स्पोर्टिङ इलाम, झापा एफसी, विरगञ्ज सिटी एफसी छन् ।
प्रतियोगिताका सबै खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा शुक्रबार साविक विजेता काठमाडौं रेजर्स र स्पोर्टिङ इलम एफसीले खेल्नेछन् । खेल साँझ ६ बजे सुरु हुनेछ ।
एनएसएलको पहिलो संस्करण सन् २०२१ मा सुरुआत भएको थियो । एन्फाभित्रको आन्तरिक राजनीतिका कारण दोस्रो संस्करण दुई वर्षपछि हुन लागेको हो । महामारीको रुपमा फैलिएको कोभिड भाइरसको संक्रमणले नेपाल पूर्णरुपमा लकडाउनमा हुदाँ बन्द रंगशालामा यसको सुरुआत गरिएको थियो ।
आयोजकले दोस्रो संस्करण भने दर्शकको उपस्थितीमा गर्ने मौका पाएको छ । एनएसएलको आयोजनाबाट फुटबलमा दर्शक फर्काउने अपेक्षा आयोजकले लिएको छ । दोस्रो संस्करणको उद्घाटनमा केही मनोरञ्जनात्मक प्रस्तुती राखिएको छ ।
टिकट शुल्क २ सय र ५ सय छ । आइएमई पेमा गएर अनलाइन टिकट लिन सकिन्छ ।