बकैयामा सडेको अवस्थामा शव फेला
हेटौंडा । मकवानपुरमा सडेगलेको अवस्थामा शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शनिबार बिहान बकैया गाउँपालिका वडा नं २ सरस्वती सामुदायिक बनको वतासेडाँडास्थित जंगलको भिरबाट करिब ३०० मिटर तल अन्दाजी ६०–६५ बर्षीय एक पुरुष मृत अवस्थामा फेला परेको हो ।
मकवानपुरका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार ती पुरुषको सनाखत भएको छैन । शव भेटिएको बारे स्थानीले प्रहरीलाई खबर गरेका थिए। सूचना पछि प्रहरीले घटनास्थल पुग्दा दुर्गन्धित अवस्थामा फेला परेको प्रवक्ता भण्डारीले बताए ।
यसैगरी मकवानपुरको मनहरी गाउँपालिकाका स्थानीयहरुले दिनदिनै नजिकै पर्सा राष्ट्रिय निकुञ्जबाट आएको जंगली हात्तीको उपद्रो बाध्य छन् । गएको दुई सातादेखि लगातार हात्तीको आतंकले मनहरीका स्थानीयहरुलाई सुरुमा अन्नबाली र घरगोठ जोगाउन मुस्किल थियो ।
हात्तीले मान्छेलाई आक्रमण गर्न थालेपछि ज्यान जोगाउन मुस्किल परेको छ । स्थानीयको घरगोठ र अन्नपातमा क्षति गर्दै रजाई गरेको हात्तीले मान्छेलाई आक्रमण गरी घाइते बनाएपछि ज्यान जोगाउन मुस्किल परेको हो ।
शनिबार राती ११ बजेर ४५ मिनेटको समयमा मनहरी गाउँपालिका–७ बिजौना बस्ने ५१ बर्षीया कान्छिमाया तामाङलाई आक्रमण गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार घर बाहिर निस्किएकी तामाङलाई अचानक जंगली हात्ति आएर आक्रमण गरेको हो । हात्तीको आक्रमणबाट ढाडमा चोट लागेपछि उनी बेहोस भएकी थिइन् ।