एनएसएलको इलिमिनेटरमा काठमाडौं र ललितपुर भिड्दै
काठमाडौं । नेपाल सुपर लिग एनएसएलको इलिमिनेटरमा काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी भिड्दैछन् ।
मंगलबार दशरथ रंगशालामा हुने खेल साँझ साढे ५ बजे सुरु हुनेछ ।
लिग चरण काठमाडौंले तेस्रो र ललितपुरले चौथों स्थानमा रहेर टुङ्गयाएका थिए । लिगको अन्तिम खेलमा काठमाडौं र ललितपुर भिडेका थिए । जसमा काठमाडौंले ललितपुरलाई १–० ले हराउँदै प्लेअफमा छनोट भएको थियो ।
काठमाडौंलाई हराउँदै पहिलो क्वालिफायर खेल्ने अवसर ललितपुरले भने गुमाएको थियो ।
मंगलबारको विजेता टिमले फाइनल प्रवेशका लागि पोखरा थन्डर्ससँग खेल्नेछ । सोमबार पहिलो क्वालिफायर खेलमा पोखरालाई हराउँदै धनगढी एफसीले फाइनलमा स्थान सुरक्षित गरेको छ । टाइब्रेकरमा पोखरालाई ४–३ गोल अन्तरले हराउँदै धनगढी लगातार दोस्रो पटक फाइनल प्रवेश गरेको हो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरका आधारमा गरिएको थियो ।
उपत्यका डर्बीको रुपमा समेत रहेको इलिमिनेटर खेलमा दर्शकको बाक्लो उपस्थिती रहने अपेक्षा गरिएको छ ।
स्कोरिङको समस्या खेप्दै आएको ललितपुरलाई नकआउट चरणमा त्यो छुट रहने छैन । मिडफिल्डर तोजिडिनोभ कोमिजोनको निलम्बन काठमाडौंलाई सबैभन्दा महङ्गो पर्न सक्छ ।