दोलखाको कालिञ्चोक र सैलुङ्ग लगायतका विभिन्न क्षेत्रमा हिमपात सुरु

दोलखा । दोलखाको कालिञ्चोक, सैलुङ्ग लगायतका विभिन्न पर्यटकीय क्षेत्रमा हिमपात सुरु भएको छ । यो सँगै यी क्षेत्रहरुमा पर्यटकको घुइँचोसमेत लाग्न थालेको छ ।लामो समयपछि दोलखाको विभिन्न क्षेत्रहरुमा हिमपात भएपछि स्थानीय व्यावसायीहरु समेत खुशी भएका छन् । यसअघि हिमपात नभएकै कारण व्यावसायीहरुमा निराशा छाएको थियो ।

हिमपात भएसँगै अब २५००० देखि ३०००० को हाराहारीमा पर्यटक भित्रन सक्ने कालिन्चोक दर्शन लिमिटेडका व्यवस्थापक तिलक प्रसाद दुलालले बताए । तीन हजार आठ सय ४२ मिटर उँचाईमा रहेको कालिञ्चोकमा गत बर्ष फागुनमा मात्र हिमपात सुरु भएको थियो ।

यो वर्ष भने माघ लाग्ने वित्तिकै हिमपात सुरु भएको हो । अहिले हिमपातमा रम्न आन्तरिक तथा बाह्य पर्यटकहरुको घुइँचो लाग्न थालिसकेको छ ।

यतिबेला हिमपातका कारण कालिञ्चोक मन्दिर, सैलुङ्ग डाँडा, खरि ढुङ्गा लगायत आसपासका पहाड र कुरी बजार समेत सेताम्य भएको छ । जुन दृष्यले पर्यटकहरुलाई समेत लोभ्याइरहेको छ ।

‘हिउँमा रमाउन अत्यन्तै मनपर्ने भएकोले हामीहरु हिमपात भएको सुन्ने वित्तिकै कालिन्चोक आएको हौँ,’ आन्तरिक पर्यटक किशोर बुढाथोकीले भने ।

खरिढुंङ्गा आसपासमा आउँदा आउँदै अझ बढी हिमपात भएकोले आफुले अझ बढी मज्जा लिने मौका पाएको अर्का पर्यटक कौसिक मैतिको भनाइ छ ।

गत बर्षभन्दा एक महिना अघि नै हिमपात भएको कारण व्यवसायमासमेत केही राहत पुग्ने त्रीपुरा रिसोर्ट कालिन्चोकका संचालक चन्द्र लामाले बताए ।

गत वर्ष फागुन महिनामा मात्रै हिम पात भएको थियो। यसवर्ष भने माघ लाग्ने वित्तिकै दोलखाका धेरैजसो स्थानहरुमा हिमपात भइरहेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*