हङकङमा जारी त्रिकोणात्मक शृङ्खलामा नेपालले पीएनजीलाई हरायो
काठमाडौँ । हङकङमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा मंगलबार खेलिएको आफ्नो दोस्रो खेलमा नेपालले पपुवा न्यु गिनी (पीएनजी) लाई ८५ रनले हराएको छ ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ९८ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको पीएनजीले १६।१ ओभरमा अलआउट हुनुअघि एक सय १३ रनमात्र बनाउन सक्यो ।
नेपालको जितमा कुशल भुर्तेलले ब्याटिङ र बलिङ दुबैमा उत्कृष्ट प्रदर्शन गरे । ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले अर्धशतक बनाए भने चार विकेट पनि लिए । यसका अतिरिक्त सन्दीप जोराले पनि अर्धशतक बनाएका थिए ।
नेपालका लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेल र पाँचौँ नम्बरका ब्याट्सम्यान सन्दीप जोराले अर्धशतकीय पाली खेलेका थिए । कुशल भुर्तेलले ५९ रन बनाए । सन्दीप जोराले पनि टोलीका लागि ५६ रनको योगदान गरे ।
अर्का ओपनर विनोद भण्डारीले २७ रन बनाएका थिए । कुशल भुर्तेल र विनोद भण्डारीले ओपनिङ विकेटका लागि ६४ रनको साझेदारी गरे । गुलसन झाले टोलीको खातामा अविजित १५ रन थपे । छैटौँ नम्बरमा क्रिज समाल्न आएका उनले १२ बलको सामना गरी एक छक्का पनि हिर्काए ।
लोकेश बमले १४ रन बटुले । विवेक यादवले पनि अविजित १९ रन बनाए । उनले केवल चार बलको सामना गरी तीन छक्का पनि हिर्काए । कप्तान रोहित पौडेल एक रनमा पेभेलियन फर्किए । आरिफ शेख पनि चार रनभन्दा अगाडि बढ्न सकेनन् ।
नेपालले अतिरिक्त रुपमा तीन रन पायो । पीएनजीका बलर असाद भालाले दुई विकेट लिए । नोसाइना पोकाना, जोन कारिको र नरम्यान भानुआले एक–एक विकेट हात पारे ।
जवाफी ब्याटिङ गरेको पीएनजीलाई लक्ष्यसम्म पुग्न नदिन कुशल भुर्तेलले चार विकेट लिए । उनले चार ओभरमा केवल १३ रन खर्चिए । प्रतिस जिसीले पनि दुई विकेट हात पारे । आकाश चन्द र गुलसन झाले पनि एक–एक विकेट लिए ।
पीएनजीका लागि हिरी हिरीले सर्वाधिक २८ रन बनाए । ओपनर ब्याट्सम्यान सेसे बउले पनि टोलीको खातामा २१ रन थपे । ओपनर टोनी उरा भने १३ रन बनाउँदै पेभेलियन फर्किएका थिए । पीएनजीले अतिरिक्त रुपमा ६ रन पाएको थियो ।
पीएनजीको पहिलो विकेट नेपाली बलर प्रतिसि जिसीले लिएका थिए । उनले पीएनजीका ओपनर ब्याट्सम्यान टोनी उरालाई १३ रनको ब्यक्तिगत स्कोरमा बोल्ड गरेका थिए । पेभेलियन फर्किनुअघि टोनीले ६ बलमा एक छक्का र एक चौका हिर्काएका थिए । तेस्रो ओभरको अन्तिम बलमा टोनी आउट हुँदा पीएनजीले ३२ रन बनाएको थियो ।
दोस्रो विकेटका रुपमा पीएनजीका तेस्रो नम्बरका ब्याट्सम्यान सेसे बउ पेभेलियन फर्किएका थिए । उनी रन आउट भएका थिए । उनले पेभेलियन फर्किनुअघि २१ रन बनाएका थिए । उनले १३ बलको सामना गरी एक छक्का र दुई चौका हिर्काएका थिए । उनलाई गुलसन झाले रन आउट गराए । ३।२ ओभरमा सेसे आउट हुँदा पीएनजीले ३६ रन बनाएको थियो ।