राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम स्थगित

काठमाडौं । विद्यालय छनोटमा ढिलाइ भएको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ । शिक्षामन्त्री सुमना श्रेष्ठले उक्त कार्यक्रम स्थगन गरी यसबारे अर्थ मन्त्रालयलाई जानकारी दिने निर्णय गर्नु भएको हो ।

चालु आर्थिक वर्षमा उक्त कार्यक्रमका लागि एक अर्ब रुपैयाँ विनियोजन भएको थियो । कार्यक्रमअन्तर्गत विद्यालय छनोटमा ढिलाइ भएको र स्रोतको वितरण तथा उपयोगमा विभिन्न गुनासा आएका भन्दै कार्यक्रम स्थगित गरिएको हो ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत यस आर्थिक वर्षमा बजेट विनियोजन भए पनि गत आर्थिक वर्षको तुलनामा न्यून बजेट विनियोजन भएको थियो । विगतका कार्यक्रमको प्रभावकारिताको विश्लेषण, स्थानीय तहसँगको छलफलमा उठेका विषयको सम्बोधन, चालु आर्थिक वर्षमा भएको माग र आवश्यकताको पहिचान लगायतका कार्य गर्दा विद्यालय छनौटको कार्यमा ढिलाइ भएको देखिएको मन्त्रालयले निष्कर्ष निकालेको छ ।

मन्त्री श्रेष्ठले कार्यक्रम स्थगित गर्नुका पछाडि विभिन्न कारणहरु रहेको दर्शाउन भएको छ । चालु आर्थिक वर्षमा भवन निर्माणका लागि समयसमेत अत्यन्त कम भएको जनाइएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमतर्फ भएको स्रोत उपयोग गर्न पनि समस्या देखिएको तथा जाजरकोट र बझाङका भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवन पुनर्निर्माणका लागि आवश्यक बजेट व्यवस्थापन हुन नसकेको मन्त्री श्रेष्ठको बुझाइ छ ।

मुसहर, चेपाङलगायत सीमान्तकृत समुदाय रहेको स्थानमा नमुना सामुदायिक विद्यालय सञ्चालन गर्न रकम नभएको अवस्थामा अन्यत्रका विद्यालयलाई पूर्वाधार विकासका निम्ति बजेटको व्यवस्था गर्न सान्दर्भिक नहुने मतहरु आइरहेको थियो ।

मन्त्रालयले आगामी आर्थिक वर्षमा ती क्षेत्रको शैक्षिक विकासमा ध्यान दिने शिक्षामन्त्री श्रेष्ठको निजी सचिवालयले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*