माओवादीले उपचुनावमा आफ्नै उम्मेद्वार उठाउने
काठमाडौँ – सत्तारूढ नेकपा (माओवादी केन्द्र) ले आगामी उपनिर्वाचनमा आफ्नै उम्मेद्वार उठाउने निर्णय गरेको छ। बुधबार बिहान बसेको पार्टीको पदाधिकारी बैठकले इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र क मा उम्मेदवारी दिने निर्णय गरेको पाटीका महासचिव देव गुरुङलेदेश सञ्चारलाई जानकारी दिए।
सत्तारुढ नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आफ्नै उम्मेद्वार उठाउने तयारी गरेका कारण माओवादी पनि सो निर्णयमा पुगेको गुरुङले बताए।
इलाम २ र बझाङमा क्षेत्र नम्बर १ कमा आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदैछ।
निर्वाचन आयोगले तय गरेको निर्वाचन तालिका अनुसार चैत्र २४ गते उम्मेदवारको मनोनयन दर्ता र चैत्र २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह वितरण गरिनेछ। चैत्र २८ गतेदेखि २०८१ वैशाख १२ गतेसम्म प्रचारप्रसारको अवधि रहनेछ।
२०८१ वैशाख १५ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुने आयोगले जनाएको छ। गत चुनावमा इलाम २ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद एमालेका सुवास नेम्वाङ र बझाङ १ क प्रदेससभामा निर्वाचित काँग्रेसका पृथ्वीबहादुर सिँहको निधन भएपछि उपचुनाव हुन लागेको हो।