आगामी आर्थिक वर्षको बजेट मस्यौदा लेखनको काम सुरु
काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि बजेट मस्यौदा लेखनको काम सुरु गरेको छ । बजेट मस्यौदा लेखनको काम सुरु भएको हुँदा अत्यावश्यकबाहेक भेटघाटका लागि मन्त्रालय नआउन समेत आग्रह गरेको छ । कार्यालयमा मन्त्रीसहित सबै कर्मचारी बजेट निर्माणमा केन्द्रित हुनुपर्ने भएकाले भेटघाटको समयमा हेरफेर गरिएको मन्त्रालयले जनाएको हो ।
गत शुक्रबार अर्थमन्त्री वर्षमान पुनले सहसचिव धनिराम शर्माको नेतृत्वमा बजेट मस्यौदा लेखन समिति गठन गर्नु भएको थियो । समितिमा सहसचिचवहरु रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र पार्वती शर्मा सदस्य रहेका छन् ।
शनिबार अर्थमन्त्री पुनबाट आवश्यक निर्देशन लिएर बजेट लेखनको काम शुरु गरिसकिएको छ । बजेट निर्माणसँग सम्बन्धित सरोकारवालालाई पनि पहिल्यै समय लिएर मात्र आइदिन मन्त्रालयका प्रवक्ता तथा सहसचिव उत्तरकुमार खत्रीले आग्रह गर्नुभयो ।
प्रवक्ता खत्रीले भन्नुभयो– ‘बजेट निर्माणको समयमा बिहानदेखि राति अबेरसम्म कर्मचारीले काम गर्नुपर्ने हुन्छ । अनावश्यक भिडभाड हुँदा काम प्रभावित हुन्छ तर सबै भेटघाट बन्द गरिएको होइन । भेट्नैपर्ने सरोकारवालाहरुलाई पहिल्यै समय लिएर मात्र आइदिन आग्रह गर्न चाहन्छु ।’
लोकतन्त्रमा सबै सरकारी निकाय जनताका लागि खुला हुने बताउँदै प्रवक्ता खत्रीले कामको चाप र संवेदनशीलताका कारण बजेट निर्माण अवधिभर भेटघाटको स्वरुपमा गरिएको परिवर्तनबाट पर्न जाने असुविधाप्रति मन्त्रालय क्षमाप्रार्थी रहेको पनि बताउनुभयो । विगतमा पनि बजेट निर्माणको समयमा यस्तो अभ्यास हुने गरेको खत्रीले स्पष्ट पार्नुभयो ।
नेपालको संविधानले हरेक वर्षको जेठ १५ गते गणतन्त्र दिवसका दिन अर्थमन्त्रीले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने व्यवस्था उल्लेख गरेको छ ।