आईपीएलमा आज मुम्बई र दिल्लीबिच भिडन्त हुने
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १७औँ संस्करणमा आइतबार दुई खेल हुनेछ । पहिलो खेल मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सबिच खेलिने छ । खेल नेपाली समय अनुसार, दिउँसो ३ः४५ बजे मुम्बईस्थित वानखेड स्टेडियममा खेलिने छ ।
मुम्बई पाँच पटकको उपाधि विजेता क्लब हो । तर, आईपीएलको जारी संस्करणमा भने मुम्बईको प्रदर्शन निकै निराशाजनक देखिएको छ । जारी संस्करणमा मुम्बईले यो चौथो खेल खेल्न लागेको हो । यसअघि खेलिएका तीनवटै खेलमा मुम्बई पराजित भएको छ ।
हालसम्म खाता खोल्न नसकेको मुम्बई तालिकामा सबैभन्दा तल छ । हालसम्म अङ्क बटुल्न नसकेको एकमात्र टोली मुम्बई नै हो । मुम्बई आफ्नो पहिलो खेलमा गुजरात टाइटन्ससँग ६ रनले, दोस्रो खेलमा सनराइजर्स हैदराबादसँग ३१ रनले र तेस्रो खेलमा राजस्थान रोयल्ससँग ६ विकेटले हारेको थियो ।
दिल्लीले भने जारी संस्करणको आईपीएलमा आफ्नो पाँचौँ खेल खेल्न लागेको हो । यसअघि खेलिएको चारमध्ये एक खेलमा दिल्ली विजयी भएको छ । बाँकी तीन खेलमा भने दिल्लीले हार भोगेको छ । दिल्लीले पनि जारी संस्करणमा गतिलो प्रदर्शन गर्न सकेको छैन ।
दिल्लीलाई पहिलो खेलमा पञ्जाब किङ्सले चार विकेटले हराएको थियो । दिल्ली आफ्नो दोस्रो खेलमा राजस्थान रोयल्ससँग १२ रनले पराजित भएको थियो । दिल्लीले आफ्नो तेस्रो खेलमा बलियो चेन्नई सुपर किङ्सलाई २० रनले हराएको थियो ।
यसैगरी दिल्लीलाई चौथो खेलमा कोलकाता नाइट राइडर्सले एक सय ६ रनको फराकिलो अन्तरले हराएको थियो । दिल्ली क्यापिटल्स चार खेलबाट दुई अङ्क बटुल्दै तालिकाको नवाैँ स्थानमा आसिन छ । आइतबार खेलिने दिल्लीविरुद्धको खेलमा मुम्बईका ब्याट्सम्यान सूर्यकुमार यादव पनि मैदानमा ओर्लने सम्भावना छ । उनी करिब तीन महिनादेखि घाइते रहेका थिए ।