नेकपा एमाले र नेपाली कांग्रेस बीच नयाँ सरकार बनाउने सहमति
काठमाडौं – नेकपा एमाले र नेपाली कांग्रेस बीच नयाँ सरकार बनाउने सहमति भएको छ । सोमबार राति दुई दलबीच सत्ता सहकार्य गर्ने सहमति भएको दलनिकट स्रोतले पुष्टि गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी ओलीबिच भएको सहमतिमा संविधान संशोधनको एजेन्डासहित ‘राष्ट्रिय सहमतिको’ सरकार बनाउन सहमत भएका छन् । निर्वाचनयता दुई वर्ष नपुग्दै माओवादीबाट धोका पाएका दुवै दलले अब सकेसम्म सबै दललाई समेटेर सरकार बनाउने सहमति गरेका छन् ।
शीर्ष नेताको सहमतिमा सुरुको ढेड वर्ष एमाले अध्यक्ष केपी ओली नेतृत्वमा सरकार बन्नेछ । राष्ट्रिय सहमतिका आधारमा ओली नेतृत्वमा सरकार बन्ने सहमति गरेको एक नेताले जानकारी दिए ।
सुरुमा बन्ने ओली नेतृत्वको सरकारमा एमालेले प्रधानमन्त्री, अर्थमन्त्रीसहित ९ वटा मन्त्रालयको नेतृत्व गर्नेछ भने कांग्रेसले गृहमन्त्रीसहित १० वटा मन्त्रालय लिनेछ । सहमतिको औपचारिक पत्र भने नेताहरुले सार्वजनिक गरेका छैनन् । सहमतिको मस्यौदामा सहभागी नेताका अनुसार मंगलबार सहमतिको औपचारिक पत्र सार्वजनिक हुनेछ ।