आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मकवानपुरद्वारा सञ्चारकर्मीहरुसँग अन्तरक्रिया
हेटौंडा । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मकवानपुरले मकवानपुरका सञ्चारकर्मीहरुसँग अन्तरक्रिया गरेको छ । आज बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय अन्तरगतको चिकित्सालयले आयुर्वेद सेवाका बारेमा जनमानसमा जानकारी पुर्याउने उदेश्यले मकवानपुरका सञ्चारकर्मीहरुसङ्ग अन्तरक्रिया गरेको हो ।
कार्यक्रममा आयुर्वेदिक सेवाहरु, आयुर्वेदिक कार्यक्रम, आयुर्वेद विधिबाट स्वस्थ रहने उपाय, मनोपरामर्श, योगा लगायतका विषयमा छलफल गरिएको छ ।
चिकित्सालयले यस आर्थिक वर्ष २०८०८१ मा महिला स्वयंसेविकालाई आयुर्वेद सम्बन्धि सचेतना कार्यक्रम, मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम, पथ्याहार कार्यक्रम, एक जिल्ला एक जडिबुटी उद्वान निर्माण कार्यक्रम, पुर्वकर्म, पन्चकर्म कार्यक्रम, ट्राफिक प्रहरीहरुका लागि नस्य कार्यक्रम, जेष्ठ नागरिक कार्यक्रम, स्तनपायी कार्यक्रम, विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम लगाएतका कार्यक्रमहरु आयोजना गरेको चिकित्सालयकी प्रमुख डा.ललिता पाण्डेले जानकारी दिनुभयो ।
यस चिकित्सालयले वहिरङ्ग सेवा, निशुल्क औषधि वितरण, सशुल्क फार्मेसी सञ्चालन, पूर्वकर्म पञ्चकर्म सेवा, निशुल्क योग परामर्श, पथ्यअहार कार्यक्रम, जेष्ठ नागरिक सेवा, अकुपन्जर सेवा लगायतका सेवाहरु दिँदै आइरहेको छ ।
यस आयुर्वेद चिकित्सालयले २३ थरिका औषधि निःशुल्क वितरण गरिरहेको छ । चालु आर्थिक वर्ष २०८०÷०८१को जेष्ठ मसान्त सम्ममा ३२ हजार ९ सय ९१ जनाले आयुर्वेद सेवा लिएको डा.ललिता पाण्डेले बताउनुभयो ।
अन्तरक्रिया कार्यक्रममा आयुर्वेद तथा बैकल्पिक चिकित्सालयको प्रमुख डा.ललिता पाण्डे, आयुर्वेद कन्सल्टेण्ट साइरस न्यौपाने, नेपाल पत्रकार महासङ्ग मकवानपुरका अध्यक्ष मणिराज गौतम लगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।