आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना
काठमाण्डौ – देशका धेरै ठाउँमा रातिदेखि झरी परेको छ । दिउँसो पनि कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँहरु तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार दिउँसो कोशी, मधेस, बाग्मती, र गण्डकी प्रदेशका केही ठाउँहरुमा, लुम्बिनी प्रदेशको थोरै ठाउँहरुमा साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । लगातार र ठूलो पानी परेका ठाउँका नदी, खोलाहरुमा बाढी आएको छ ।
नारायणी र मर्स्याङ्दी नदीले सतर्कता तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । चितवनको देवघाट र नारायणी नदीको पुल, सिन्धुलीको कमला र बाराको पसाह खोलामा जलसतहले सतर्कता तह पार गरेकाले नदी तटीय क्षेत्रमा बस्नेहरुलाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
जल तथा मौसम विज्ञान विभागले भोलिसम्म देशका विभिन्न ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान गरेको छ । विभागका अनुसार देशको पूर्वी र मध्य भागका धेरैजसो जिल्लामा छोटो अवधिमा धेरै पानी पर्न सक्ने जोखिम छ ।