पहिरोमा बेपत्ता बस र यात्रुको अवस्था अझै अज्ञात
काठमाण्डौ – मुग्लिन–नारायणगढ सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा बेपत्ता भएको दुईवटा बस र त्यसमा रहेका यात्रुको अवस्था अझै थाहा हुन सकेको छैन । बिहान साढे तीन बजे पहिरोले दुईवटा बस बगाएर त्रिशूली नदीमा बेपत्ता भएको सूचना पाउनेबित्तिकै प्रहरीले खोजी गरिरहेको छ ।
दुई वटा बसमा चालकसहित ६० जनाभन्दा धेरै यात्रु रहेको भनिए पनि पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार काठमाण्डौबाट रौतहटको गौरको लागि छुटेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाण्डौको लागि छुटेको एञ्जल बस त्रिशूलीमा खसेका हुन् ।
एन्जल बसमा २४ जना र गणपति डिलक्समा ४१ जना यात्रु रहेको भन्ने प्रारम्भिक जानकारी आएको प्रहरीले जनाएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजीको काम गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी भेषराज रिजालले जानकारी दिनुभयो । बेपत्ता बस र यात्रुको खोजीमा सेना र सशस्त्र प्रहरीको गोताखोरसमेत परिचालन गरिएको छ ।