बस दुर्घटनाको अध्ययन गर्न गठित कार्यदलले काम थाल्यो

काठमाण्डौ – असार २८ गते शुक्रवार चितवनको सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा दुईवटा बस खसेर यात्रु बेपत्ता भएको घटनाको अध्ययन गर्न गृह मन्त्रालयले गठन गरेको कार्यदलले आफ्नो काम थालेको छ ।

गृहमन्त्री रमेश लेखकले पद बहालीका क्रममा दुर्घटना अध्ययन गरी प्रतिवेदन दिन मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा कार्यदल गठन गर्नुभएको थियो । दश दिनको कार्यादेश दिइएको कार्यदलले आज बिहान घटनास्थल पुगेर अध्ययन थालेको कार्यदलका सदस्य नेपाल प्रहरीका प्रहरी बरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिनुभयो । उहाँकाअनुसार टोलीले अहिले घटनास्थलको अध्ययन गरिरहेको छ ।

रिजाल संयोजक रहेको कार्यदलमा प्रहरी वरिष्ठ उपरीक्षक खत्रीसहित सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक शंकर खनाल, विपद् प्राधिकरणबाट सन्ध्या सिग्देल, यातायात व्यवसायी सरोज सिटौला र भौतिक पूर्वाधार मन्त्रालयका प्रतिनिधिका रूपमा प्रकाश भण्डारी रहनुभएको छ ।

घटनास्थलको अध्ययन, प्रत्यक्षदर्शी, बाँचेका व्यक्ति, उद्धार टोली, स्थानीय प्रशासनलगायतसँग छलफल गरेर प्रतिवेदन तयार पार्ने कार्यदलले जनाएको छ । दुई वटा बसमा रहेका ६५ जनामध्ये तीनजना बाँच्न सफल भएका थिए ।

अहिलेसम्म १७ जनाको शव फेला परेको छ । अन्य यात्रुको अवस्था थाहा हुन सकेको छैन । सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाकाअनुसार बाँकी यात्रु र बसको खोजी निरन्तर भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*