शनिबार हेटौंडामा कोरा साइकल र्याली हुने
हेटौंडा । मकवानपुरको हेटौंडामा आउँदो शनिबार कोरा साइकल र्याली हुने भएको छ । उक्त साइकल र्याली हेटौंडा राइर्डरस क्लबको आयोजनामा हुने भएको हो ।
क्लबले कोरा–२०२४ सातौ संस्करण आयोजना गर्न लागेको हो । ‘दिस इज नट अ रेस, एभ्रीवन इज अ उइनर’ स्लोगन राखेर सामुहिक रुपमा गरिने आयोजक क्लबका अध्यक्ष विकास ताम्राकारले जानकारी दिए ।
उनका अनुसार, करिब ५० किलोमिटर दुरीमा हुने साईकल र्यालीमा चितवन, बारा, पर्सा लगायत काठमाडौंका २५० जना भन्दा बढि राईडरहरुले सहभागिता जनाउनेछन् ।
हेटौंडाको भुटनदेवी मन्दिरबाट सुरु हुने र्याली हेटौंडा बजार, सानोपोखरा, बनस्खण्डी, जलेश्वर महादेव मन्दिर, चौकीटोल, सामरी, शिखरकटेरी, सालकपार्क, राजदेवी हुँदै एक्लीखेत, हर्नामाडी, हटिया, चौघडा, पिप्ले, कान्तिराजपथ हुँदै बुद्ध चोक, राईडर्स चोक लक्ष्मण साईकल अगाडि आई सम्पन्न हुनेछ ।
च्यालेन्जमा १२ वर्ष उमेर माथिका महिला, पुरुष दुवैले सहभागिता जनाउन सक्नेछन् । उक्त र्यालीमा सहभागी हुन हालसम्म २ सय जनाले नाम दर्ता गराइसकेको अध्यक्ष ताम्राकारले बताए । कार्यक्रममा निःशुल्क जर्सीको व्यवस्था गरिएको छ ।