एसिया कपमा युएइसँग प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले एसिया कप टी–२० क्रिकेटको आफ्नो पहिलो खेलमा आज युएइसँग प्रतिस्पर्धा गर्दैछ।

८ वर्षपछि एसियाकपमा सहभागिता जनाएको नेपाल पहिलो खेलमा विजयी सुरुवातको लक्ष्यमा रहेको छ। विश्व क्रिकेटका शक्तिशाली भारत, पाकिस्तान र नेपालको चिरपरिचित प्रतिद्वन्द्वी युएईविरुद्ध भिड्दै गर्दा नेपाल एसियाकप इतिहासकै पहिलो जितको प्रतीक्षामा छ।

नेपाली महिला टोलीले पहिलो पटक २०१२ मा एसियाकपमा सहभागिता जनाएको थियो। पछिल्लो पटक २०१६ मा प्रतिस्पर्धा गरेको यो इभेन्टमा त्यसयताका ८ वर्षभने प्रतिक्षामानै बित्यो। दुई संस्करणमा सहभागी भएपनि नेपालले एसिया कपमा जित निकाल्न सकेको छैन।

सन् २०१२ को एसिया कपमा बंगलादेश, चीन र श्रीलंकासँग पराजित हुँदै नेपाल समूह चरणबाट बाहिरिएको थियो। त्यसैगरी ‘राउन्ड रोबिन’ आधारमा खेलाइएको २०१६ को एसिया कपमा नेपाल पाँच खेलमा जितविहीन रहेर घर फर्किएको थियो।

एसिसीले एसियाकपको छनोट मानिएको एसिसी प्रिमियर कपमा फाइनल पुग्ने दुई टोलीले सहभागिता जनाउँदै आएका थिए। यो पटक पनि नेपाल फाइनल पुग्न असफल हुँदा एसियाकप खेल्नबाट बञ्चित भएको थियो। तर, सुरुवातमा फाइनल पुग्ने दुई टोलीले मात्र एसियाकप खेल्ने तालिकालाई यो पटक एसिसीले परिमार्जन गर्दै सेमिफाइनलमा पराजित दुई टोलीलाई पनि एसियाकपमा स्थान दिने निर्णय गर्दा नेपाल र थाइल्यान्डको भाग्य चम्कियो। यद्यपि, यो अवसरमा नेपाल सामु बलिया टिमविरुद्ध पूरै २० ओभर खेल्दै प्रतिस्पर्धामा आफूलाई बलियो देखाउनुपर्ने चुनौती रहेको छ।

एसियाकपमा नेपाल समूह ‘ए’मा रहेर भारत, पाकिस्तान र युएईसँग समूह चरणमा भिड्दा कम्तीमा युएई र पाकिस्तानलाइ हराउँदै अघिल्लो चरण पुग्ने लक्षयमा रहेको छ। त्यस्तै, अर्को समूहमा आयोजक श्रीलंकासँगै बंगलादेश, मलेसिया र थाइल्यान्ड रहेका छन्।

हरेक समूहमा शीर्ष दुईमा रहने टिमले सेमिफाइनलमा स्थान बनाउने छन्। प्रतियोगताको फाइनल २८ जुनमा हुनेछ। नेपालले दाम्बुलामा दिउँसो २ः१५ मा प्रतिस्पर्धा गर्दा आजै हुने अर्को खेलमा भारत र पाकिस्तान साँझ ७ः१५ मा प्रतिस्पर्धा गर्नेछन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*