बागमतीमा जम्मकट्टेल नेतृत्वको सरकार ढल्दै
हेटौंडा । बागमती प्रदेशमा नेकपा माओबादी केन्द्रको नेतृत्वमा रहेको शालिकराम जम्मकट्टेल नेतृत्वको सरकार ढल्ने भएको छ । संघीय सरकारमा माओबादी नेतृत्वको सरकार ढलेर नेकपा एमाले र नेपाली कांग्रेसको समिकरणमा सरकार गठन भएसंगै बागमती प्रदेशमा पनि माओवादी नेतृत्वको सरकार ढल्ने निश्चत भएको हो ।
भोली साउन ६ गते बागमती प्रदेशसभामा मुख्यमन्त्री जम्मकट्टेलले बिश्वासको मत लिने कार्यक्रम रहेको छ । तर, जम्मकट्टेलले विश्वासको मत पाउने देखिदैन । अब यस प्रदेशमा कांग्रेस र एमालेको सहमतीमा कांग्रेसका बागमती प्रदेशका संसदीय दलका नेता बहादुर सिंह लामाको नेतृत्वमा प्रदेश सरकार बन्ने भएको छ ।
अहिले सम्मको सहमती उलंघन नभएमा लामा नेतृत्वको सरकार बन्ने भएको हो । कांग्रेसले यस प्रदेशमा पहिलो पटक सरकारको नेतृत्व गर्न लागेको हो । यसअघि एमाले र माओबादीले सरकारको नेतृत्व गरिसकेका छन् ।
सङ्घीयता कार्यान्वयनको ७ वर्ष अवधिमा अधिकांश समय बागमती सरकारमा रहेको नेकपा माओवादी केन्द्र अब भने बाहिरिने तरखरमा छ । सङ्घीय संरचना अनुसार प्रदेश गठन भएपछि बागमती प्रदेशमा माओवादी केन्द्र पटकपटक सत्ता साझेदार रहेको छ भने पछिल्लो समय सरकारकै नेतृत्वमा छ ।
२०७४ को निर्वाचनमा वाम गठबन्धनका आधारमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले तालमेल गरेका थिए । २०७४ माघ २८ मा गठित बागमती प्रदेश सभामा एमालेका ५८ र माओवादी केन्द्रका २३ गरी सत्ता पक्षमा ८१ जना सांसद थिए । २ तिहाइको बहुमत रहेको सो सरकारको नेतृत्व माघ २८ मा एमालेका डोरमणि पौडेलले गरेका थिए ।
त्यतिबेला २ मन्त्रीसहित सरकारमा सहभागी भएको माओवादी केन्द्रबाट शालिकराम जम्कट्टेल र युवराज दुलाल मन्त्री बनेका थिए । ३ वर्ष सत्तामा रहेको माओवादी केन्द्रबाट उनीहरू क्रमशः आन्तरिक मामिला तथा कानुन र सामाजिक विकास मन्त्री बनेका थिए ।