बागमतीको मुख्यमन्त्रीमा कांग्रेसबाट लामाले सोमबार दावी पेश गर्ने
हेटौंडा । बागमती प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त गर्ने प्रक्रिया सुरु भएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएसँगै प्रदेश प्रमुख यादवप्रसाद शर्माले साउन ८ गते अपराह्न ५ बजेभित्र सरकार गठनका लागि आइतबार आह्वान गरेका हुन् ।
वाग्मतीमा अब नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन हुने भएको छ । कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले सरकारले नेतृत्व गर्ने भएका छन् ।
१ सय १० सदस्यीय प्रदेशसभामा सरकार निर्माणका लागि ५६ मत आवश्यक पर्छ । प्रदेशमा कांग्रेस र एमालेको सहजै बहुमत पुग्ने अवस्था छ । प्रदेशसभामा कांग्रेसका ३७, एमालेका २७, माओवादीका २१, राप्रपाका १३, नेकपा (एस) का ७ र हाम्रो नेपाली पार्टीका २ सांसद छन् । बागमती प्रदेश सरकारमा नेपाली कांग्रेसले सोमबार मात्र दावी पेश गर्ने भएको छ ।
कांग्रेसबाट संसदीय दलको नेता बहादुर सिंह लामाले सोमबार सरकारमा दावी पेश गर्ने भएका छन् । नेता लामाले एमाले र कांग्रेसको समर्थनमा सरकारमा दावी पेश गर्न लागेका हुन् ।