बागमती प्रदेशमा मुख्यमन्त्रीमा दाबी पेश रोकियो

हेटौंडा । बागमती प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मन्त्रालय भागबण्डा नमिल्दा मुख्यमन्त्रीमा दाबी पेश गर्न ढिलाइ हुने भएको छ । कांग्रेस संसदीय दल नेता बहादुर सिंह लामाले आज १० बजे प्रदेश प्रमुख कार्यालयमा दाबी पेश गर्ने तयारी भए पनि मन्त्रालय भागबण्डामा सहमति जुट्न नसक्दा दाबी पेश गर्न ढिलाई हुने भएको हो ।

नेकपा माओवादी केन्द्रका शालिकराम जम्कट्टेलले मुख्यमन्त्री पदबाट आइतबार राजीनामा दिएपछि प्रदेश प्रमुख यादव चन्द्र शर्माले ८ साउन ५ बजेभित्र संविधानको धारा १६८ (२) अनुसार बहुमतको सरकार गठनका लागि आह्वान गरेका थिए ।

नेपाली कांग्रेसका नेताहरुले आजै मुख्यमन्त्री पदमा दाबी पेश गर्ने बताए पनि सत्ता गठबन्धनको प्रमुख घटक नेकपा एमालेका दल नेता जगन्नाथ थपलिया आकस्मिक रुपमा काठमाडौं हिँडेपछि मुख्यमन्त्रीमा दाबी पेश गर्ने प्रक्रिया रोकिएको छ ।

थपलियाले आफूलाई पार्टीका नेताहरुले आकस्मिक रूपमा बोलाएकाले काठमाडौं जानुपर्ने जानकारी गराएपछि दाबी पेश रोकिएको कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*