शेयर बजार सामान्य बढ्यो, १३ अर्ब ९१ करोडको कारोबार
काठमाण्डौ – केही दिनयता उच्च अङ्कले बढिरहेको शेयर बजार आज सामान्य अङ्कले बढेको छ । दिनभर उतारचढाव भएको शेयर बजार परिसूचक नेप्से दुई दशमलव १५ अङ्कले बढेर दुई हजार चार सय ८८ दशमलव शून्य नौ विन्दुमा पुगेको छ ।
आज तीन पटकसम्म २५ सय विन्दु छोएको नेप्से बन्द हुँदा २४ सय ८८ विन्दुमा रोकियो । कारोबार खुलेको २ मिनेटमा, ११ बजेर २२ मिनेटमा र २ बजेर २५ मिनेटमा नेप्से २५ सय विन्दुमा पुगेको थियो ।
आज बैंकिङ, विकास बैंक, होटल, लगानी, माइक्रोफाइनान्स र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर बढेको छ ।
आज मुक्तिनाथ कृषि कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन गणपति लघुवित्त कम्पनीको शेयर भने झन्डै १० प्रतिशतले घटेको छ ।
आज तीन सय नौ वटा कम्पनीका तीन करोड ९७ लाख कित्ता शेयर १३ अर्ब ९१ करोड ५५ लाख रुपैयाँमा कारोबार भएको छ ।