हेटौंडा–१९ मा निशुल्क आँखा परीक्षण
हेटौंडा । टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडा उपमहानगरपालिका र हेटौंडा सामुदायिक आँखा अस्पतालको संयुक्त आयोजना भएका निशुल्क आँखा परीक्षण सिविरमा ९० जनाको आँखा परीक्षण गरिएको छ ।
मंगलबार हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा हेटौंडा–१९ स्थित तपोवन टोल विकास संस्थामा मधुमेहका बिरामी तथा ५० वर्ष भन्दा बढी उमेर भएका व्यक्तिहरूको आँखाको पर्दा जाँच गरिएको हो । नेपालमा पछिल्लो समय मधुमेह र उच्च रक्तचापका बिरामी बढ्दै गएसँगै त्यसले आँखामा असर पार्ने हुँदा आँखा परीक्षण सिविरको आयोजना गरिएको टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीले बताए ।
मधुमेह र उच्च रक्तचापले मानव शरिरको विभिन्न अंगहरुमा असर गर्ने र सबैभन्दा पहिले आँखाको दृष्टिपर्दा अर्थात रेटिनामा असर गर्ने भएकोले सो सम्वन्धि सचेत गराउनु पनि कार्यक्रमको उद्देश्य रहेको अध्यक्ष अधिकारीले बताए । साथैं ५० वर्ष भन्दा माथि उमेर समूहका व्यक्तिहरुमा आँखा सम्बन्धी समस्या धेरै आउने तर अधिकांश व्यक्तिहरू परीक्षण गर्न नजाने कारणले यो कार्यक्रम निकै प्रभावकारि हुने र कार्यक्रम नगरका सबै वडामा सञ्चालन गरिने आयोजकले जनाएको छ ।
मंगलबार भएको सिविरमा परीक्षण गरिएका मध्ये २० जना बिरामीको आँखामा समस्या आएकोे अस्पतालका प्रशासन प्रमुख सुधिर श्रेष्ठले बताए । टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष धु्रवप्रसाद अधिकारीको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामाको प्रमुख आतिथ्यतामा भएको आँखा परीक्षण सिविर सुभारम्भ कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ का अध्यक्ष नरनाथ सुबेढी, हेटौंडा सामुदायिक आँखा अस्पतालका प्रमुख डा. सुनिल थकाली, प्रशासन प्रमुख सुधिर श्रेष्ठ, प्राविधिक मिनबहादुर रोकाया, टोल विकास वडा समन्वय समिति हेटौंडा–१९ का अध्यक्ष देवेन्द्र अर्याल लगायतको आतिथ्यता रहेको थियो ।