कुनै प्रकारको द्वन्द्वमा नेपाल नफसोस् भन्नेमा सरकार सजग छः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई शान्ति चाहिएको बताउनुभएको छ ।
बुधबार टिआरसी विधेयक सहमतिका लागि बनेको कार्यदलको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री ओलीले कुनै प्रकारको द्वन्द्वमा नेपाल नफसोस् भन्नेमा सरकार सजग रहेको बताउनुभयो । उहाँले विधिको शासन भन्दा पर जान नसक्ने पनि बताउनुभयो ।
प्रधानमन्त्री ओलीले डेमोक्रेसी नहुँदा, अधिनायकवाद हुँदा, तानाशाही हुँदा, संवैधानिक बाटो, शान्तिपूर्ण बाटो अवरुद्ध हुँदा र लोकतान्त्रिक माध्यमबाट परिवर्तन र अग्रगमन सम्भव नहुँदा जनताले परिवर्तनका लागि आन्दोलन गर्दै आएपनि अहिले लोकतान्त्रिक बाटो खुला रहेको बतउनुभयो । लोकतान्त्रिक बाटो खुला हुँदा पनि गरिने क्रियाकलाप स्वीकार्य नहुने चेतावनी दिनुभयो ।
प्रधानमन्त्री ओलीले अहिलेको सरकार लोकतन्त्रका लागि सचेत रहेको बताउनुभयो । उहाँले संवैधानिक कानूनी प्रावधानअनुसार सरकार नचले लोकतान्त्रिक नहुने बताउनुभयो । संघीयताको प्रभावकारी कार्यान्वयन भएका कमी हटाएर प्रभावकारी कार्यान्वयनतर्फ अघि बढ्ने बताउनुभयो ।