अर्थमन्त्री पौडेलले भनेः सरकार रोजगारीसहितको विकासको पक्षमा छ

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उच्च व्यापार घाटा, सुस्त आर्थिक वृद्धि र विकास सहायताको घट्दो क्रमले विकासोन्मुख र अल्पविकसित देशहरु थप समस्यामा परेको बताउनुभएको छ ।

काठमाडौंमा मंगलवार विकासका लागि वित्त सम्बन्धी संवाद, भविष्यमा हुने शिखर सम्मेलनका लागि नेपालको मार्ग विषयक कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताउनुभएको हो । उहाँले विकासोन्मुख र अल्पविकसित मुलुकहरुको आन्तरिक राजस्व परिचालन गर्ने क्षमता कमजोर हुँदै गएको बताउनुभयो ।

आन्तरिक श्रोतको अभावमा निजी पुँजी तथा विकास सहायता लगायत सम्भाव्य क्षेत्रको श्रोतको अधिकतम उपयोग गर्नेगरी विकासप्रतिको खाका तय गर्नुपर्ने अवस्था सिर्जना भएको अर्थमन्त्री पौडेलको भनाइ छ । कुल ग्राहस्थ्य उत्पादनका तुलनामा राजस्वको अनुपात तुलनात्मक रुपमा राम्रो देखिएपनि यसलाई दिगो बनाउनुपर्ने चुनौति रहेको उहाँले बताउनुभयो ।

प्रत्यक्ष वैदेशिक लगानी र वाह्य क्षेत्रबाट आउने पुँजी प्रवाह तुलनात्मक रुपमा न्युन रहेको अर्थमन्त्री पौडेलको भनाइ छ । सार्वजनिक ऋणको भार बढ्दै गएकाले विकासका लागि श्रोतको जोहो गर्नेकुरा चुनौतिपूर्ण बनेको बताउनुभयो ।

अर्थमन्त्री पौडेलले राजश्वको अधिकांश हिस्सा सार्वजनिक ऋण भुक्तानीमा लगाउनुपर्ने बाध्यताले सामाजिक सुरक्षा तथा विकासका गतिविधिमा सरकारको लगानी संकुचित हुने अवस्था रहेको बताउनुभयो । यसले दिगो विकासको लक्ष्य प्राप्ति गर्ने संकल्पलाई टाढा धकेल्ने चुनौति बढेको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*