सरकार टिकटकको प्रतिबन्ध हटाउन लचिलो, क्याबिनेटमा प्रस्ताव लगिँने

काठमाडौं । सरकारले प्रतिबन्धको ८ महिनापछि चिनियाँ मल्टिमिडिया प्लेटफर्म टिकट खुलाउने संकेत दिएको छ ।

सिंगापुरस्थित टिकटकको कार्यालयले नेपालको सबै नियम–कानुन मान्न तयार रहेको र त्यहीअनुसार नियमन गर्दा हुने आशयको पत्र पठाएपछि सरकारले टिकटकमाथिको प्रतिबन्ध खुलाउने तयारी गरेको हो ।

त्यसका लागि सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले आवश्यक परामर्श र छलफल अघि बढाएका छन् । मन्त्री गुरुङको सचिवालयका अनुसार टिकटकले नेपालको कानुनअनुसार सम्बन्धित निकायमा दर्तादेखि करसम्बन्धी कानुन पनि मानेर अघि बढ्ने प्रतिबद्धता जनाएपछि प्रतिबन्ध हटाउने गरी छलफल थालिएको हो ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदले २०८० कात्तिक २७ गतेको निर्णयबाट टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । खास गरी एमाले नेता महेश बस्नेत र माओवादी कार्यकर्ता शान्ति बरालबारेका आपत्तिजनक सामग्री भाइरल भएपछि टिकटलाई सरकारले निशाना साँधेको थियो।

त्यसबेला यी दुईजनासँग सम्बन्धित कन्टेन्ट भाइरल भएपछि सरकारले टिकटकका माध्यमबाट सामाजिक सद्भाव खल्बलिएको भन्दै प्रतिबन्ध लगाएको थियो ।

अब प्रचण्डले सरकार छाडिसकेपछि सत्तामा फर्किएका केपी शर्मा ओली क्याबिनेटले फेरि टिकटकलाई खुलाउने निर्णय लिन लागेको हो । टिकटकले पछिल्लो पटकसहित आठौं पत्र सरकारलाई पठाएको थियो । उसले नेपालमा दर्ता हुन तयार रहेको, नेपालको कानुन पनि तयार रहेको जनाउ दिएपछि अब प्रतिबन्ध हटाउनेतर्फ सरकार अघि बढेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*