अहिलेको सरकारले घुस खादैनः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारले घुस नखाने प्रतिवद्धता जनाउनु भएको छ ।
नेपाल प्रहरी परिसर भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यो सरकारले भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने प्रतिवद्धता जनाउनु भएको हो । प्रहरी कर्मचारीलाई सरुवा बढुवाका लागि पैसाका थैली बोकेर नेताहरुका घरघरमा नधाउन समेत उहाँले प्रहरी कर्मचारीलाई निर्देशन दिनुभयो ।
प्रधानमन्त्री ओलीले काठमाडौं प्रहरी परिसर नयाँ अत्याधुनिक भवनमा सरेकोमा धन्यवाद दिँदै सेवा पनि गुणस्तरीय दिन निर्देशन दिनुभयो । साथै उहाँले निष्पक्ष र दबाबरहित भएर कर्तव्य पालन गर्न आग्रह गर्नुभयो ।
फरक प्रसंगमा प्रधानमन्त्री ओलीले अपराध हुन नदिन छानबिन र अनुसन्धानलाई अझ महत्व दिनुपर्ने बताउनुभयो । साथै उहाँले अब पुरानो शैलीबाट अपराध नियन्त्रण गर्न नसकिने बताउनुभयो ।
‘हामीले अपराध हुनै नदिने कुरालाई छानबिन अनुसन्धानभन्दा कम महत्व दिनुहुँदैन । म तपाईँहरूलाई सुझाव दिन चाहन्छु । पुरानो घुमुवाको तरिकाबाट कुनै पनि उपलब्धि हुनेवाला छैन । पुरानो घुमुवाको तरिकाबाट होइन यसलाई नयाँ तरिकाले विकास गर्नुपर्छ । अब स्रोत, साधनले सम्पन्न बनाएर तपाइँहरूको अनुसन्धानभन्दा अगाडिको अनुसन्धान गर्नुपर्छ । अपराध कसैले गराउन खोजेको छ भने पहिल्यै पत्ता लगाउने र नियन्त्रण गर्ने अनुसन्धान धेरै महत्वपूर्ण छ । यसो भयो भने अपराधीको मानसिकता फैलिँदैन ।’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।