बालेन्द्र साहको कार्यशैलीप्रति उपमेयर डंगोलको तीव्र असन्तुष्टि

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले मेयर बालेन्द्र साहको कार्यशैलीप्रति तीव्र असन्तुष्टि व्यक्त गरेकी छन् ।

बुधबार बसेको ३५ औँ कार्यपालिका बैठकलाई सम्बोधनका क्रममा उपमेयर डंगोलले महानगरको नेतृत्वको भूमिका र कार्यशैलीका कारण जनता आतंकित भएको बताइन् ।

‘अहिले जनता एकदमै आतंकित भएको, त्रसित भएको महसुस गरेका छौँ । हिजो मात्रै जनता महानगरको कार्यालयमा घेर्न आएका थिए । अहिले वडाहरूका कार्यालय जनताले घेर्न थालेका छन्’, उनले भनिन्, ‘सम्मानित अदालतले गरेको आदेशलाई हामीले सम्मान गर्नुपर्छ । सम्मान गर्ने क्रममा, कार्यान्वयन गर्ने क्रममा कसरी जाने भन्ने हेक्का राख्नुपर्छ । हामीले जनतालाई कुनै माध्यमबाट सुसूचित गर्ने कुरामा पनि कसरी लेखिएको छ भन्ने महत्वपूर्ण हुन्छ । एउटा शब्दमै खेल्ने कुरा धेरै हुन्छ । प्रमुखस्तरीय निर्णयअुनसार सूचना प्रकाशित गरिएको भनिएको छ। तर महानगरको निर्णय हो कि होइन भन्ने हेक्का राखौँ ।’

उनले महानगरका कुनै पनि निर्णय संवेदनशील हुने र जनतासँग, उनीहरूका भावनासँग जोडिएका हुनेतर्फ मेयर साहलाई सचेत गराएकी छन् ।

‘महानरमा सानोभन्दा सानो कुरामा छलफल हुन्छ भने यस्तो संवेदनशील विषयमा थाहा नपाउने हुनु भएन । हामीले सूचनाबाट थाहा पाउने भन्ने कुरा ठीक होइन । हामीले क्षतिलाई कसरी काम गर्न सकिन्छ भन्ने पनि सोचौँ’, उनले भनिन्, ‘अदालतले गरेको निर्णय सदैव जनतको हितमा हुन्छ भन्ने पनि छैन । एउटा निर्णय भएको छ भने हामी पुनरावलकोनमा जानुपर्छ । यस्ता गम्भीर इस्युमा जनता सडकमा आइसकेपछि त्यसलाई डिफेन्स गर्ने होइन । पहिले नै जनतालाई सुसूचित गरौँ, हामीबीच बढी भन्दा बढी सहकार्य र छलफल हुनु आवश्यक छ। यदि त्यसो नहुने हो भने समस्या हुन्छ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*