कुनैपनि ठाउँमा रहेर नागरिकले मतदान प्रयोग गर्न पाउनुपर्छः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकले विश्वका कुनैपनि ठाउँमा रहेर मतदान प्रयोग गर्न पाउने अधिकारलाई सुनिश्चित गर्न सरकारले काम गरिरहेको बताउनुभएको छ ।
दक्षिण एशियाली निर्वाचन व्यवस्थापन निकायसम्बन्धी मञ्च (फेम्बोसा) को १२ औँ सम्मेलनको बुधवार काठमाडौंमा उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
हिमाल पग्लिनुका साथै समुद्रको तापक्रम बढ्दा जलवायु परिवर्तनमा पर्ने प्रतिकूल असरले मानव जीवनमा आउने चुनौतीका बीच लोकतन्त्रको अभिन्न अंगका रुपमा रहेको निर्वाचन प्रक्रियालाई अगाडि बढाउनु साझा दायित्व भएको प्रधानमन्त्री ओलीले बताउनुभयो ।
प्रधानमन्त्री ओलीले नागरिकले जहाँ रहेर पनि आफ्नो मताधिकार प्रयोग गर्न पाउनुपर्ने र सोहीअनुसारको उचित वातावरण बनाउन सरकारले प्रयास गरिरहेको बताउनुभयो । उहाँले बसाईंसराइ, जलवायु परिवर्तन र सामाजिक सञ्जालका अवसर र चुनौतीबीच देश—विदेशमा रहेका जनताका चाहना र अपेक्षाबमोजम निर्वाचन प्रक्रियालाई सहज बनाउन साझा प्रयास आवश्यक रहेको बताउनुभयो । उहाँले हरेक निर्वाचनले जनताको इच्छा र आकंक्षालाई प्रतिविम्वित गर्ने भएकाले मताधिकारको सम्मान गर्नु हरेक राज्यको दायित्व भएको बताउनुभयो ।