नवनियुक्त प्रधानसेनापतिलाई महारथीको दर्ज्यानी चिह्न प्रदान
काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानसेनापति अशोकराज सिग्देललाई नेपाली सेनाको महारथी पदको दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।
राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित विशेष समारोहमा नेपाली सेनाका परमाधिपति पौडेलसमक्ष नवनियुक्त प्रधानसेनापति सिग्देलले पद तथा गोपनीयताको शपथ लिए।
मुलुकको प्रमुख सुरक्षा सङ्गठन नेपाली सेनाको ४५औँ प्रधानसेनापतिका रूपमा सिग्देलले आजैदेखि औपचारिक रूपमा सेनाको कमाण्ड सम्हाल्ने छन् । नेपालको संविधानले सेनालाई नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा गर्ने महत्त्वपूर्ण जिम्मेवारी दिएको छ ।
यसका अलवा विपद् व्यवस्थापन, राष्ट्र विकास, शान्ति स्थापना, आन्तरिक सुरक्षा, वन तथा पर्यावरण सुरक्षा, ऐतिहासिक धरोहरको संरक्षण, राष्ट्रिय एकताको प्रवर्द्धन र आपतकालीन खोज तथा उद्धारका कार्य पनि सेनाको जिम्मेवारी क्षेत्रमा रहेको छ ।