लाइसेन्सको कर तिरेको रसिदमै क्यूआर कोड र फोटो राख्ने तयारी
हेटौंडा । प्रदेश सरकारहरुले अब सवारी चालक अनुमतिपत्र लाइसेन्सको छपाइ नहुँदासम्म कर तिरेको रसिदमै क्यूआर कोड र फोटो राख्ने भएका छन्।
गत २० साउनमा सबै प्रदेशका यातायात मन्त्रीहरू सहभागी बैठकले लाइसेन्स छपाइमा भएको ढिलाइलाई ध्यानमा राखेर प्रदेशहरूले नै लाइसेन्स छाप्न तयारी थाल्ने र लाइसेन्स जारी गर्दा वा नवीकरण गर्दा उपलब्ध गराइने राजस्व तिरेको रसिदमै क्युआर कोड र लाइसेन्सबाहकको फोटो राख्ने निर्णय गरेको थियो। सो निर्णय प्रदेशहरूले कार्यान्वयनमा लैजाने तयारी थालेका छन्।
सोही अनुसार बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालय मातहत रहेको यातायात व्यवस्था कार्यालयले कर तिरेको रसिदमै क्यूआर कोड र फोटोको राख्ने प्रक्रिया अघि बढाएको प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले बताए।
लाइसेन्स छपाई ढिलाई भैरहेको अवस्थामा हाललाई सवारी चालक अनुमतिपत्र लाइसेन्सको छपाइ नहुँदासम्म कर तिरेको रसिदमै क्यूआर कोड र फोटोको राख्ने तयारी गरेको उनले जानकारी दिए।
‘लाईसेन्स संघले छाप्न नसक्ने, प्रदेशले नै यसको जिम्मेवारी लिनुपर्छ भनिसकेको अवस्था छ,’ मन्त्री महर्जनले भने, ‘हामी लाइसेन्स छाप्न तयार छौं। अहिले लाइसेन्स छपाई मात्रै होइन, विभागले चलाइरहेको विद्युतीय सवारी लाइसेन्स ९इडीएल० पनि वल्ड भर्सन भैसकेको छ। त्यसले काम नै गर्न सकिरहेको छैन।’