हातेमालो बचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधारणसभा सम्पन्न

हेटौंडा । हेटौँडा-२ मा रहेको हातेमालो बचत तथा ऋण सहकारी संस्थाको १८ औँ वार्षिक साधारणसभा शनिबार हेटौंडामा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष हरिप्रसाद पौडेलको सभाध्यक्षता तथा बागमती प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।

सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि देवकोटाले सहकारी क्षेत्रमा हेटौंडामा रहेको हातेमालो सहकारीको कारोबार हेर्दा राम्रो रहेको बताउनुभएको छ । पछिल्लो राष्ट्रिय घटनाले सबैक्षेत्रका सहकारीका सदस्यहरु त्रसित हुनुपर्ने अवस्था सिर्जना भएको बताउँदै तर यस सहकारीमा भने त्यस्तो अवस्था नरहेकाले सदस्यले चिन्ता गर्नु नपर्ने बताउनुभयो ।

भाखा नाघेको ऋणले गर्दा प्रायः सहकारीमा समस्या भइरहेको भन्दै उहाँले बचत सँगै ऋणको कारोबार गर्ने सहकारीले भाखा नाघेको अवस्थामा सहकारीलाई कारोबार गर्न असहज परिस्थिती सिर्जना हुने गरेको बताउनुभयो । उत्पादनसँग जोडिएर कर्जा लगानी गर्न आग्रह गर्दै सदस्यहरुलाई व्यवसायिक बनाउन सीपमूलक तालिमहरु दिनुपर्ने उहाँको भनाई रहेकोे छ । खादा मालामा पनि संस्थाको अनावश्यक खर्च हुने गरेकोमा त्यसको प्रयोग नगरी पनि सभा गर्न सकिन्छ भन्ने उदाहरण दिएको भन्दै देवकोटाले धन्यवाद दिनुभयो ।

त्यस्तै संस्थाको समग्र आगामी महत्त्वपूर्ण कार्यक्रमको प्रस्तुति सहितको प्रगति प्रतिवेदन संस्थाका सचीव सिताराम दहालले प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी यस वर्षको आर्थिक गतिविधि र आगामी प्रस्तावित आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष दिपक दहाल र आन्तरिक परिक्षण प्रतिवेदन लेखा समिति संयोजक नारायण रेग्मीले प्रस्तुत गर्नुभएको थियो ।

सभाकै अवसर पारेर विभिन्न विधामा सदस्यहरुलाई सम्मान तथा पुरस्कृत समेत गरिएको थियो । सहकारीले पूर्व समितितर्फ निवर्तमान उपाध्यक्ष राजु ढकाल र सदस्य अर्जुनप्रसाद विडारीलाई सम्मान गरेको थियो । यसैगरी संस्थाको कार्यसम्पादनका उत्कृष्ट भई संस्थाका व्यवस्थापक रमलाकुमारी सापकोटा र कार्यालय सहायक पुष्पराज दहाललाई नगद सहित वर्ष उत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै, जेष्ठ सदस्यतर्फ जीवनाथ सुवेदी र यशोदादेवी चौरेल, उत्कृष्ट बचतकर्तातर्फ जर्नादनप्रसाद अधिकारी र सुष्मा कुईँकेल लामिछाने, असल ऋणीतर्फ ध्रुवप्रसाद देवकोटा र गुराँस माझीलाई पुरस्कृत गरिएको संस्थाका सचिव सिताराम दहालले बताउनुभयो ।

त्यसैगरी सहकारीले बालबोध माविकी छात्रा कृतिका घिमिरेलाई आठ हजार रुपैयाँ हातेमालो छात्रवृति प्रदान गरेको छ । एईइमा उत्कृष्ट हुने सामूदायिकतर्फका प्रकृति दहाल, प्रशन्न चौलागाई र भवानी भट्ट, संस्थागततर्फ सुमिन मानन्धर र रस्मिता सुवेदीलाई र प्लस टु तर्फ कृशल राई र कृति सापकोटालाई पुरस्कृत गरिएको थियो ।

सहकारीकोे आव २०८०/०८१ सम्मको कुल पुजीँ ६८ करोड ५५ लाख ९४ हजार ७६४ रुपैयाँ रहेको छ । ६ करोड ४२ लाख ९ हजार ८ सय शेयरपुजीँ रहेको सहकारीले आफ्ना सदस्यहरुलाई ५२ करोड ८८ लाख ४१ हजार २६ रुपैयाँ कर्जा लगानी गरेको संस्थाका व्यवस्थापक रमलाकुमारी सापकोटाले बताउनुभयो । उहाँका अनुसार सहकारीमा ५३ करोड २५ लाख १४ हजार ८४५ बचत निक्षेप, चार करोड ५ लाख ७६ हजार ९ रुपैयाँ जगेडा कोष रकम रहेको बताउनुभयो । सहकारीले आव २०८१/०८२ का लागि ७५ करोड ६० लाख बराबरको कारोबार गर्ने लक्ष्य रहेको व्यवस्थापक सापकोटाले बताउनुभयो ।

कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष मीना कुमारी चौरेल, हेटौंडा उपमहानगरपालिकाका उद्योग, पर्यटन तथा सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेल, प्रगति नमुना साकोसका अध्यक्ष मिठाराम दहाल, साइराम साकोसका अध्यक्ष राजेन्द्रप्रसाद पौडेल, संस्थाका सल्लाहकारहरु नुरप्रसाद गौतम, राजु ढकाल, लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*